काठमाडौँ: साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका उनको उपचारको क्रममा अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
झापाको मेचीनगर वडा नम्बर ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनका छोराका अनुसार ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएका साहित्यकार खरेलको पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो । उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी नाटक लगायतका थुप्रै कृति प्रकाशित छन् ।
उनका कृतिहरू विजयका निबन्ध (निबन्ध, २०६४),क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५), बाटुली (बिज्ञान काब्य, २०६६), इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८), बिजयका कविता (कविता संग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध संग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरु (कथा कुथुंग्री, २०७४), अल्पिल्टा स्वरहरु (निबन्ध संग्रह, २०७८), कल्पना, मुनाहरु (समालोचना, २०७८), झर्रा शब्दहरुको संग्रह (शब्दकोश, २०७९), झिल्काहरु (कुथुंग्री संग्रह), युगारम्भ (उपन्यास, २०७९) प्रकाशित छन्।