पाल्पा: जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।
तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई नगद ५ हजार प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको उनले बताए । २ भन्दामाथि जति सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।
गाउँमा जनसंख्या घट्दै जाँदा काम गर्ने जनशक्तिको अभाव हुन थालेको र कृषि गर्ने मानिसको अभावमा खेतबारी बाँझिनुका साथै यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकाले जनसंख्या वृद्धि गर्न खोजिएको बताइएको छ।
त्यस्तै, गाउँका विद्यालय रित्तिँदै गएको भन्दै वडाध्यक्ष पोखरेलले गुनासो गरे । पहिला जनसंख्या बढी र विद्यालय थोरै हुने गरेकोमा अहिले तीनै विद्यालयमा पढ्ने बालबालिका नभएका उनले बताए । सरकारले विद्यार्थी नभए विद्यालय मर्ज गर्ने नीति लिएको भएपनि नजिकको विद्यालयलाई टाढाको विद्यालयमा मर्ज गर्दा बालबालिका अध्ययन गर्न जान छाडेका उनले बताए ।