धनगढीः प्रहरीले धनगढीमा झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स र एक थान अटो प्रहरीले बरामद गरेको हो ।
करिब तीन लाख मूल्यका उक्त सामान, अटो र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । धनगढी–३ मिलनचोकबाट पनि करिब ७९ हजार ३३५ मूल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, साबुन, सुटलगायतका सामान प्रहरीले बरामद गरेको छ । उक्त सामान बेवारिसे अवस्थामा फेला परेका प्रहरीले बताएको छ । धनगढी–१३ कै राजपुरबाट करिब चार हजार ६ सय मूल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, कैलालीको भजनी नगरपालिका–३ कर्मदेवघाटबाट भन्सार छलीका गुट्खा र एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । करिब एक लाख १३ हजार मूल्य बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । आइतवार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।