काठमाडौँ: रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ ।
गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी दिएका छन् ।
अनुसन्धानको क्रममा भारतबाट चोरीपैठारी गरिएका विभिन्न नामका रक्सीका बोतल फेला परेको हो । रेड लेबल ‘ह्विस्की’ को ५८ र एब्सुल्युट भोड्काका १० खाली बोतल बरामद गरिएको उनले बताए ।
अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको विवाहमा अवैध रुपमा भित्र्याइएको रक्सीको प्रयोग गरेको स्रोतको दाबी छ । यता, होटलका ब्राण्ड म्यानेजर विष्णु भण्डारीले उक्त रक्सी होटलको तर्फबाट उपलब्ध नगराइएको दाबी गरेका छन् ।
ग्रुपका निर्देशक पोखरेलले पनि उक्त मदिरा आफ्नो पार्टीमा प्रयोग नभएको ठोकुवा गर्दै भाटभेटनी र स्थानीय पसलबाट खरिद गरेको र बिल देखाउन पनि तयार रहेको बताए ।