डडेल्धुरा: जिनकल्लाका ५५ वर्षीय सहदेव भट्टलाई विश्वास थिएन। बाँझो खेत यस्तो हरियाली बन्ला भनेर। सोमबार उनी भेटिँदा पोलीहाउस भित्रका टमाटर टिपीरहेका थिए। ‘मैले त जुनिभरी कृषि गरे। यसरी व्यवसायिक रुपमा गर्ला भनेर कहिले सोचेन। तर मेरो इच्छा चाँही पहिलेदेखि नै हो’ लटरम्म फलेका टमाटर हेर्दै उनले भने।
जिल्लाको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर ४ रुमायलमा अहिले टनेल नै टनेल छन्। धेरैजसो स्थानीय अहिले कृषिमा लागेका छन्। सहदेवले पनि २ वर्षअघि सोही वडाको जिनकल्लामा फर्म दर्ता गरेर व्यवसायिक कृषिकर्म थालेका थिए।
आफ्नो २० लाख र मुख्यमन्त्री नमुना कृषिगाँउ कार्यक्रममार्फत १० लाख गरेर जम्मा ३० लाख लगानी लागेको उनले बताए। उनले ५० रोपनी जग्गा भाडामा लिएका थिए। त्यहाँ सहदेव भट्टले आलु, टमाटर, सिमला, काक्रा फलाइरहेका छन्। ‘यहाँ कसैले पनि हालसम्म व्यवसायिक रुपमा तरकारी खेती गरेका थिएनन्। तर हामीले अहिले वर्षेनि १० लाख जतिको तरकारी फलाएर बिक्री गरिरहेका छौं’ उनले भने।
उक्त कृषि फर्ममा अहिले सय जना कृषक आवद्ध भएको सञ्चालक मुकुन्द प्रसाद भट्टले बताए। उनीहरु सबैले आ–आफ्नो जग्गामा तरकारी लगाइरहेको उनी बताउँछन्। ‘हामीेले मुख्यमन्त्री नमुना गाँउ कार्यक्रममार्फत यो समुहमा आवद्ध भएका किसानलाई संरचना बनाउन सहयोग, सिँचाई पूर्वाधार निर्माण, यन्त्र तथा कृषि औजार सहयोग गरेका छौं’ उनले भने, ‘अहिले हरेक टोलमा एउटा पावर ट्रिलर वितरण गरिएको छ।’
उनले उक्त स्थानमा सिँचाईका लागि पानी अभाव र जंगली जनावरको आक्रमण लगायतका समस्या रहेको बताए। ‘तर पनि हरेस नखाने अठोट छ। यहाँका युवाहरुलाई तरकारी खेतीमा लगाएर कृषि क्रान्ति गर्ने हाम्रो लक्ष्य छ’ उनले भने।
बनतोलको लेकमा फल्दैछ तरकारी
रुमायलकै विराज भट्ट १५ वर्ष भारतमा बसे। रोजगारीको शिलशिलामा भारत हानिएका उनी कोरोनाकालमा घर फर्किएका थिए। भारतमा कमाउने १५ हजार भारुले घरपरिवार खर्च धान्न धौधौ हुनेगरेको अनुभव उनीसँग थियो। रुमाइल गाँउको माथि बनलोत लेक छ।
त्यहाँ विराजको पनि जग्गा। भारत नफर्कने निधो गरेका उनलाई त्यही लेकमा केही कृषि कर्म गर्ने जुक्ति फुर्यो। अनि के थियो, मनले आँटे कसले रोक्नसक्छ र !
उनले बैंकबाट ऋण निकालेर बन्तोलमा ३ वर्षअघिबाट पसिना बगाउन थाले। ३५ लाख व्यक्तिगत लगानी तथा कृषि ज्ञान केन्द्रमार्फत मुख्यमन्त्री नमुना कृषिगाँउ कार्यक्रमको सहयोगमा उनले हालसम्म उक्त कृषि फर्ममा तरकारी फलाउँदै आएका छन्।
‘मैले कार्यक्रममार्फत सिँचाई, घेरबार तथा यन्त्र पाएको छँ। अरु ठाउँमा पनि वितरण गरेका छौं’ उनी भन्छन्, ‘३५ वर्ष बाँझो रहेको यो खेतमा अहिले आलु, भन्टा, टमाटर, काउली र मकै फलाइरहेको छु। वार्षिक १२ लाखको उत्पादन हुन्छ।’ उनले त्यहाँ भैंसी र बाख्रा पनि पालेका छन्।
विराज भट्टले बनतोल, जैसेरा, मेड्डी, कुलेरी र रुमायलमा कृषिकार्य गर्न अनुदान र व्यक्तिगत लगानी गरिएको बताए। उनले पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३५ लाख र हाल १० लाख लगानी गरेर तरकारी खेती भइरहेको बताए।
कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जिल्लामा विगत ४ वर्ष मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले उनले गन्यापधुरा गाउँपालिका–४ मा २ वटा, परशुराम नगरपालिका–४ मा १ र आलिताल गाँउपालिका–३ मा एउटा कार्यक्रम सञ्चालन भएको बताए। ‘तीमध्ये आलितालको कृषि फर्मले सम्झौता गरेतापनि काम गरेन।
त्यसैले त्यहाँका लागि आएको बजेट फ्रिज जाने आवस्थामा छ’ उनले भने, ‘अन्य ३ स्थानमा भने सन्तोषजनक रुपमा काम भइरहेको छ।’ उनका अनुसार कार्यक्रममार्फत कृषि फर्मलाई पहिलो वर्ष ३०/३० लाख र दोस्रो वर्ष १०/१० अनुदान दिइएको थियो।