धनगढी : नेकपा (एमाले) का संसदीय दलका नेता तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले हालै सार्बजनिक गरेको आव ०८०/०८१ को बजेटप्रति असन्तुष्टि जनाएका छन्।
मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीलाई भेटेर रावलले असमान र खुद्रे योजना ल्याइएको र वितरणमुखि ढंगले बजेट बिनियोजन भएको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘गतिलो र दूरदर्शी महत्वका योजनाहरुलाई किनारा लगाएर निश्चित ब्यक्ति र संस्थाहरुलाई पोस्ने खालको बजेट ल्याइएको बताउदै उनले भने ‘कुनै जिल्लामा बजेट खन्याइएको छ, कुनैलाई सम्बोधन नै गरेको छैन,’ उनले भने, ‘समग्र बजेटको पुनः बिश्लेषण गरी एमालेले आफ्ना धारणा सार्बजनिक रुपमै राख्नेछ।’ योजना तर्जुमाका आधारमा बजेट बिनियोजन नभएको रावलको भनाई छ।
ठूला र दूरगामी महत्वका योजनाहरुमा प्रयाप्त बजेट बिनियोजन गरेर विकासको आधारशिला खडा गर्नुपर्ने अवसर प्रदेश सरकारसँग भएपनि त्यसमा चुकेको रावलले बताए।
सरकारले असमान तरिकाले बजेट बिनियोजन गरेको भन्दै प्रतिपक्षी एमाले मात्र होइन्, सत्तारुढ गठबन्धनका नेताहरुनै असन्तुष्ट छन्। उनीहरुले बिभिन्न माध्यममार्फत असन्तुष्टि र आक्रोश ब्यक्त गरिरहेका छन्। वितरणमुखि र असमान तरिकाले बजेट आएको भन्दै सर्बसाधारणले पनि विरोध गरिरहेका छन्।