म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका २१ वर्षपछि एसईई परीक्षा पास भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका उनी २.६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् ।
विसं २०५८ मा एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि उनले पढाइ छाडेका थिए । त्यसपछि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र अफगानिस्तान गएका उनले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षा उत्तीर्ण गरेका हुन् ।
२०६९ सालमा घर फर्किएका उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको उनले बताए ।
Facebook Comments Box