धनगढी: नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। हिजि (शनिबार) बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय महेश राम लावड पक्राउ परेका हुन्।
प्रहरी स्रोतका अनुसार नेपाली सेनामा २०६२ सालदेखि २०७३ सालसम्म जागिर गरी सुर्खेत ब्यारेकबाट भागेका महेशलाई ठगी धन्दा चलाएको आरोपमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई बाँकेको राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको थियो।
अहिले उनलाई पक्राउ गरेर ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भईरहेको बताइएको छ।
उनले बिभिन्न स्थानमा ठेगाना र नाम बदलेर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले मनोज रावत, रमेशसिंह बिष्ट, मनोजसिंह बिष्ट, दिनेशबिष्ट भनी फरक-फरक नाम बताउने र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुसंग राम्रो सम्बन्ध छ भनी विभिन्न प्रलोभन देखाई ठगी गर्दथे।
उनले सुर्खेतस्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरिदिने भनी एक जना महिला, कार्यालय सहयोगीमा भर्ना गरिदिने भनी एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ।
उनले सोही प्रकृतिबाट ठगी गरेको हुनसक्ने भएकाले निजले कोही कसैलाई ठगी गरेको भए पहिचान गरी प्रहरीकहाँ सम्पर्क राख्न पनि अनुरोध गरिएको छ। उनले हालैमात्र डोटीको पुर्वीचौकी गाँउपालिका-७ बस्ने देबबहादुर बिकका घर परिवारका मानिसलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको र तपाईको मान्छेलाई जागिर लगाई दिन्छु भनी विभिन्न किसिमका प्रलोभन समेत देखाई ठगेका थिए।
उनले त्यसका लागि कागजातसमेत माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फारम भर्ने देखी विभिन्न चरणका परिक्षाहरुमा पास गराई जागिर लगाईदिन्छु भनी रु.४ लाख २० हजार रकम लिएका थिए।
उनले पैसा लिएर ठगेपछि पीडितहरुले निवेदन दिएका थिए। सोही आधारमा उनको बारेमा अनुसन्धान थालिएको थियो।