काठमाडौँ: सशस्त्र प्रहरीले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका सात जना कर्मचारीको खोजबिन सुरु गरेको छ । सशस्त्र मुख्यालयले आज सार्वजनिक सूचना निकालेर बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ ।
‘आफू गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनुहोला, अन्यथा तपाईहरु सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधित) बमोजिम कारबाही भई जाने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ यसै सूचनाद्धारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरी बल नेपाल गण नं.३ मोरङका जवान लक्ष्मण लिम्बु, नेपाल एपिएफ स्कुल सुरक्षा वेश कीर्तिपुरका जवान कपिल खत्री, २१ नम्बर गण ललितपुरका जवान पूर्णबहादुर तामाङ, ३ नम्बर गण मकवानपुरका जवान केशरबहादुर विष्टसँग स्पष्टीकरण मागिएको हो ।
त्यस्तै, ४९ नम्बर गण अछामका जवान नर साउद, नेपाल एपिएफ अस्पताल बल्खुका सहायक हवल्दार प्रतिक विक र गण नम्बर ९ काठमाडौंका सहायक हवल्दार विराज घिमिरे पनि लामो समयदेखि बेपत्ता रहेकाले स्पष्टीकरणसहित सम्पर्कमा आउन सूचनामार्फत निर्देशन दिइएको छ ।