बैतडी: बैतडीमा बस दुर्घटनामा घाइते भएका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ ।
दुर्घटनामा घाइते ३९ जनामध्ये एक जना यात्रुको मृत्यु भइसकेको छ भने अन्य २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा बैतडीकै पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुको भने पहिचान हुन बाँकी छ ।
पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा सवार यात्रुको संख्या यकीन हुन बाँकी छ भने दुर्घटनाको कारण पनि खुलेको छैन। सडकबाट करीब चार सय मिटर तल खसेको बस रुखमा अड्किएको छ ।