डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाका अधिकांश सडक अवरुद्ध हुँदा पनि पालिका अध्यक्ष हेमराज चटौतले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
पालिकाको केन्द्र बगरकोटदेखी गाउँ गाउँ जोड्ने विभिन्न सडक अवरुद्ध हुँदा पनि अध्यक्षले बाटो खुल्छ भन्दै ठग्ने काम मात्र गरेको स्थानीयले गुनासो गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ४ मेल्टाका स्थानीय लालसिंह भाटले बगरकोटदेखी रुपाल जोड्ने माथिल्लो सडक ठाउँ ठाउँमा अवरुद्ध रहेको बताए । यस्तै मेल्टा भएर बोगटा जोड्ने सडक पनि धेरै ठाउँमा अवरुद्ध रहेको उनले बताए ।
ठाउँ ठाउँमा सडक भत्किएर आवतजावतमा निकै समस्या भइरहँदा पनि सडक सुचारु गर्न पालिकाबाट कुनै सुरसार नभएको स्थानीयको गुनासो छ । पालिका अध्यक्षलाई पटक पटक सडक सुचारु गर्नका लागि भने पनि उनले अझै त्यसका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष चटौतलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको छ । गाउँपालिकाका सूचना अधिकारी मातृकाप्रसाद भट्टले भने डोजर अपरेटर पारिवारिक समस्याका कारण घर गएकाले समस्या भएको बताए । तर, आजै सडक अवरुद्ध भएका ठाउँमा सफाइका लागि डोजर पठाइने उनले बताए ।