काठमाडौं : काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीको अनशन तोडिएको छ ।
उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन् ।
हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ ।
अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले जैसीको बाँकी उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारीको समेत व्यवस्था गरिदिने आश्वासन दिनुभएको छ ।
२०७३ फागुन १ गते प्रहरी र काठ तस्करबीच दोहोरो गोलि चल्दा प्रहरीलाई सहयोग गर्न पुगेका कैलाली जानकी गाउँपालिका-८ का २४ वर्षीय वीरेन्द्रको कोखामा गोली लागेको थियो ।