कञ्चनपुर: भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि महाकाली नदीको जनस्तर बढेको छ।
हिजोबाट दार्चुला र आसपासका क्षेत्रमा सामान्य वर्षा भएपनि दार्चुलाको दत्तुस्थित जलस्तर मापन केन्द्रले अहिले त्यहाँको जलस्तर ४.५६ देखाएको छ र।
दत्तुको जलस्तर झण्डै डेढ सय किलोमिटर दक्षिण डडेल्धुराको परिगाउँमा भन्दा धेरै छ। परिगाउँमा अहिले महाकाली नदीको जलस्तर ४.१ रहेको त्यहाँ जडित जलस्तर मापन यन्त्रले देखाइरहेको छ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जनाएको थियो।
परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रका अनुसार अहिले बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका लागि बाँधका ढोका खोलिएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।