डडेल्धुरा: डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिका–५ बागबजारदेखि खलंगा जोड्ने निर्माणाधीन सडकको दुर्गति भएको छ।
सदरमुकामको पूरानो बस्ती खलंगा र तल्लो खलंगा जाने उक्त बाटो भएरै ऐतिहासिक अमरगढी किल्ला पुग्न सकिन्छ। त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्याललय जानसमेत जिल्लावासीले सोही करिब ५ सय मिटरको बाटो प्रयोग गर्दै आएका छन्।
तर, लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सडक नबन्दा स्थानीयले अहिले सास्ती पाइरहेका छन्। सडक बनाउन पुरानो सडक भत्काएर लामो समयसम्म राख्दा बर्खाको भेलले दु:ख दिइरहेको छ। सडक त्यत्तिकै छाड्दा भेलले बाटो चिप्लो हुनुका साथै जोखिमपूर्ण बनेको स्थानीय सजन सिंह ठकुरीले बताए।
‘यहि बाटोबाट विद्यार्थी हिंड्ने गर्छन्। माउन्टेन स्कुल पनि यहिबाटोसँग जोडिएको छ। सडक बनाउन ढिलाई हुँदा सबैभन्दा मर्का विद्यार्थीलाई परेको छ’ उनले भने, ‘यो बर्खामा पनि सडक बन्ने छाँटकाँट छैन, अब बर्खाको सबै भेल बजारका पसल-पसल र घरघरमा छिर्ने हो।’
सडक बनाउन खनेको सबै माटो सडकमै अलपत्र छाडिएकाले झनै समस्या भएको स्थानीय नरेश जैरुले बताए। ‘त्यही माटो पानीले बगाउँदा हिलोमा हिंड्न साह्रै समस्या भएको छ’ उनले भने।
बर्सातको भेल आएर घरघरमा पस्ने हैरानीबाट आजित भएका स्थानीयले उक्त सडकको काम छिटो गर्न माग गरिरहेका छन्।
उक्त सडक पुर्ननिर्माण र अमरगढी नगरपालिका–४ मा रहेको शिवालय मर्मतका लागि संघीय सरकारले बजेट निकासा गरेको थियो। पर्यटन साझेदारी अन्तर्गत अमरगढी मार्ग भनेर नगरपालिकामार्फत उक्त पुर्ननिर्माण हुने भनिएको थियो।
अमरगढी किल्ला पर्यटन पूर्वाधार र शिव मन्दिर मर्मत शिर्षकमा २ करोड ७८ लाख ३८ हजार ६ सय ५५ केयस कालिका जेभीसँग सम्झौता भएको थियो।
नगरपालिकाले निकालेको बोलपत्र अनुसार केयस कालिका जेभीले २०७८ असार ६ गते नै उक्त योजनाका लागि सम्झौता गरेको थियो। तर, सम्झौता भएको २ वर्ष बितिसक्दा समेत सो मार्गको काम पूरा भएको छैन। उक्त निर्माण कम्पनीले कूल सम्झौता रकममध्ये ४७ लाख बुझिसकेको छ।
तर, विभिन्न समयमा विभिन्न कारणले सडक निर्माणको काममा अवरोध आइरहेको छ। ती समस्याको समाधान गर्दै जाँदा अहिले नाली निर्माणको काममा बाधा आएको छ। नालीको काम अन्तिम चरणमा पुग्दा ढल निकासको समस्याले अहिले सडकको काम ठप्प छ।
अमरगढी नगरपालिकाका इन्जिनियर सुरेशबहादुर साउँदका अनुसार नालीको ढल बागबजारतर्फ बगाउने कि रानीधारातिर फर्काउने भनेर दुविधा भइरहेको छ। बागबजारवासीले ढल आफ्नोतिर नफर्काउन माग गरिरहेका छन्। सोही कारण काम रोकिएको उनले बताए। उता रानीधारा नजिक रहेको बगरबाटावासी पनि ढल आफ्नोतिर फाले बिरोध गर्ने चेतावनी दिइरहेका छन्।
‘अहिले नालीकै विवादका कारण काम रोकिएको हो। त्यो विवाद मिल्नुपर्छ। अनि मन्त्रालयबाट बजेट पनि निकास भएको छैन। नगरपालिकासँग पैसै छैन’ इन्जिनियर साउँद भन्छन्, ‘अहिले तत्कालका लागि काम अगाडि नबढ्ने लक्षण देखिन्छ।’
उनले बर्खामा आउनसक्ने समस्या समाधानका लागि घाम लाग्ने बितिकै माटोका थुप्रो सम्याउने कार्य थाल्ने बताए।