धनगढीः कञ्चनपुरमा लुटपाट गर्ने दुईजनालाई समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरीलाई धान रोपेर साइकलमा घर फर्कदै गर्दा लुटपाट भएको थियो। उनी घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवार चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए।
दुबै जनाले चौधरीसँग भएको मोबाइल लुटेर फरार भएका थिए। लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान खुकुरी फेला पारेपछि अस्थायी प्रहरी बिट भाँसीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। लुटपाटमा संलग्न दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।