धनगढीः राप्रपा सांसद खेमादेवी बिष्टले सरकारले ल्याएको बजेटका कारण आफूलाई बाहिर निस्कन पनि समस्या भएको बताएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको छलफलका क्रममा राप्रपा बिष्टले आफू वडामा बहिस्कृत भइसकेको पनि गुनासो गरेकी हुन्।
उनले आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको बताइन्। ‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं। हिजो २५ गते बाहिर निस्केका छौं। बाहिर निस्किने वातावरण छैन। हामीलाई नगरसभामा बहिस्कार गरिएको छ। वडामा बहिस्कार गरिएको छ। हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन। हामी कहाँ जाने ? यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो। मन्त्रीज्यू, यसको जिम्मा कसले लिने ?’
आफूहरूले प्रत्यक्ष जनताका सरोकारका योजना उपलब्ध गराउँदा पनि सरकारले सम्बोधन नगरेको विष्टको गुनासो छ। ‘खुट्टामात्रै ढोग्न बाँकी राखेका थियौं। त्यसरी योजना पेस गर्यौं। तर, एउटा पनि योजना परेन। भौतिक मन्त्रालयमा ४४ वटा योजना पठाएको थिएँ । एउटा पनि परेन। अरूबाट पनि परेन’, उनले गुनासो गरिन्।
यस्तै प्रदेश सांसद बिष्टले बजेट पूर्ण रुपमा संशोधन गर्न पनि माग गरिन्। बजेट संशोधन नभए पास हुन नदिने उनले चेतावनी दिइन्।