कास्की : कास्कीमा दुई वडा अध्यक्षबीच झगडा परेपछि इमेलमार्फत भुक्तानीको सिफारिस मागेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्षसँग झगडा परेपछि ‘खोराको मुख उपल्लो इदिखोला सडक उपभोक्ता समिति’ का अध्यक्षले इमेलमार्फत भुक्तानीको सिफारिस मागेका हुन् ।
कामको विषयलाई लिएर वडाध्यक्ष रामबहादुर गुरुङ्गसँग चर्कै विवाद हुँदा समितिका अध्यक्ष अमृत भण्डारीले इमेलमार्फत भुक्तानी सिफारिसका लागि आग्रह गरेका हुन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, कास्कीद्वारा सञ्चालित सडक निर्माणको जिम्मा समितिले पाएको थियो । तर, निर्माण गरिएको सडक गुणस्तरहीन भएकाले वडाध्यक्ष गुरुङ्ग र समिति अध्यक्ष भण्डारीबीच विवाद भएको हो । वडाध्यक्षले भण्डारीलाई कुटपिटसमेत गरेको बताइएको छ ।
कुटपिटपछि प्रहरीले वडाध्यक्ष गुरुङ्गलाई पक्राउ गरेको थियो । सोही विषयलाई लिएर रुष्ट बनेका अध्यक्ष भण्डारीले अस्ति इमेलमार्फत् ‘भुक्तानीको सिफारिस गरिदिने’ सम्बन्धी पत्र पठाएका हुन् । समितिले काम सम्पन्न भएको सिफारिस मागेपनि आफ्नो चित्त नबुझेको वडाध्यक्ष गुरुङ्गले बताएका छन् ।
पत्रमा भनिएको छ, ‘प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, कास्कीद्वारा सञ्चालित खोराको मुख उपल्लो इदिखोला सडक निर्माण भएकोमा सो निर्माण गरिएको कार्यका प्राविधिक मूल्याङ्कनअनुसारको भुक्तानी दिनको लागि पूर्वाधार विकास कार्यालय, कास्कीलाई सिफारिस उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
यता, वडा कार्यालयले कागजपत्रहरु अपुग भएको जवाफ हिजो पठाएको छ । ल्याब टेष्टको रिपोर्टको प्रतिलिपि, इन्जिनियरिङ इस्टिमेट र प्राविधिक कार्य सम्पन्नको प्रतिवेदन प्रतिलिपि, उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपि, योजनाको सार्वजनिक सुनुवाई प्रतिवेदनको प्रतिलिपि, योजना शुरु हुनुअघिका, काम गर्दै गर्दाका र योजना सम्पन्न भएपछिका फोटोहरु मागिएको छ ।
वडाध्यक्ष गुरुङ्गका अनुसार उनले हालसम्म पनि ती प्रतिवेदन पठाएका छैनन् । सडक निर्माण गर्ने, जाली हाल्ने, नहर बनाउनेलगायत कामका लागि गत चैत १४ गते उपभोक्ता समिति गठन गरिएको थियो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका तत्कालीन हाकिम नारायणदत्त भण्डारीले आफ्नो पारिवारिक नाता पर्ने अमृत भण्डारीलाई समितिको अध्यक्ष बनाएपछि त्यहाँ विवाद शुरु भएको बताइन्छ ।
‘असार १७ गते गाउँपालिका जाने क्रममा झगडा भएपछि आफूले धकेलिदिएको वडाध्यक्ष गुरुङले स्वीकारेका छन् । भण्डारीले आफूमाथि कुटपिट भएको जाहेरी दिएपछि पक्राउ पूर्जी जारी गरिएको उल्लेख गर्दै उनले भने, ‘म आफैं प्रहरीमा उपस्थित भएँ । जिल्ला सरकारी वकिल कार्यालयमा बयान गराइयो । चार हजार रुपैयाँ धरौटीमा छुटेको छु ।’