कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरासहित चार जनालाई भ्रष्टाचार मुद्दा लागेको छ। विद्यालयभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बोहोरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र प्रोपराईटरविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरुले आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा विद्यालय हाताभित्रको माटो खन्दै जमिन सम्याएर पोखरी निर्माण गर्दा सरकारी रकम हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।
तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ७ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो जफत गर्न, जरिवाना र सजायको मागसमेत गरेको छ।