बैतडी: बैतडीमा हजुरबुवाको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका- ६ मुडेलीधारमा ५० वर्षका गणेश साउदले उनलाई कुटेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको पारिवारिक स्रोतले बताएको छ।
अर्का नाति ८ वर्षीय रिजन साउदलाई भने धनगढी रेफर गरिएको छ। अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको छ।
मृतक रेशम क्यान्सरबाट पीडित थिए। विभिन्न अभियान चलाएर उनको उपचार गरिएको थियो।
हजुरबुवाको कुटाइबाट घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो।
बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। कुटपिट गर्नुको कारण भने खुलेको छैन। घाइते रोसन र रिजनका बुबा दिपक साउद त्यो बेला धनगढीमा थिए।
कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनी मानसिक रोगबाट पीडित रहेको बुझिएको छ।