धनगढी: बेला बेला विवादमा परिरहने राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीका पीए दाबी गर्ने (बैतडी स्थायी घर भएका) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ। करिब ४/५ महिना अघि रानाले डिलासैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो।
सद्भावना दुत एवं स्वयंसेवकका रुपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेको बताइएको छ। अहिले सो विषयलाई लिएर व्यापक आलोचना पनि भैरहेको छ। दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्।
जनप्रतिनिधि लागयतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ। यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यस विषयलाई स्वभाविक लिनुपर्ने जनाएका छन्। उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि नियुक्ति दिइएको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार अन्य ४ जना दुतका रुपमा क्रियाशील छन्।
उनीहरुको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको पालिकाका अध्यक्ष जोशीले बताए। तर के कति भन्नेबारे भने उनले खुलाउन चाहेनन्।
यस्तै डिलाशैनीकै कर्मचारीहरुले पनि यसको विरोध गरेका छन्। पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न गरिएको र यसरी राजनैनिक रुपमा नियुक्ति दिइएको आरोप लगाए। गाउँ कार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरुलाई नियुक्त गरिएको थियो।