धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सजावटको लागि झण्डै एक करोड बजेट विनियोजन गरिएको छ। नयाँ फर्निचर खरिददेखि नयाँ एसीसम्मका लागि लाखौँ रुपैया बजेट विनियोजन गरिएको छ। नयाँ आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा फर्निचर, एसीदेखि कार्यालय सजावटका सबै सामग्री हुँदाहुँदै नयाँ मुख्यमन्त्रीका लागि नयाँ सामग्री खरिद गर्न एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।
भवन निर्माणमा लाग्ने लागतभन्दा बढी मुख्यमन्त्री कार्यालय सजावटमा राज्यकोषको रकम खर्च गर्ने तयारी छ। मुख्यमन्त्री निवासमा बैठक कक्ष निर्माणका लागि ३० लाख र त्यहाँ फर्निचर खरिद गर्न १० लाख बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्यालयमा एसी जडानका लागि १२ लाख विनियोजन भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै टहरा, कम्पाउण्ड वाल र पर्खाल निर्माणका लागि थप पाँच लाख बजेट राखिएको छ। मुख्यमन्त्री कार्यालयको नयाँ भवनको लागि फर्निचर खरिदमा मात्रै २० लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै नयाँ भवनको फर्निसिङको नाममा १५ लाख छुट्याइएको छ। मुख्यमन्त्री कार्यालयको भवन निर्माणका लागि ८० लाख छुट्याइएको छ। मुख्यमन्त्री कार्यालयअन्तर्गत मुख्य न्यायाधिवक्तको कार्यालय मर्मत तथा रङरोगन गर्न पाँच लाख छुट्याइएको छ। मुख्यमन्त्री निवास परिसरमा बैठक कक्ष निर्माण गर्न ३० लाख, टहरा, कम्पाण्ड वाल र पार्क निर्माण गर्न ५ लाख, नयाँ भवनका लागि पल्स सिलिङको नाममा १५ लाख, भित्ते अलमारी निर्माणको नाममा ८ लाख, बैठक कक्षको फर्निचर व्यवस्थापनमा १० लाख तथा भिटिसी जडान गर्न ६ लाख बजेट विनियोजन गरिएको छ।