काठमाडौँः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जिल्लाको सुरक्षा व्यवस्थाका लागि जनशक्ति कम हुनु नै चुनौतीको विषय रहेको बताएका छन्। महेन्द्रनगरपोष्टको तेस्रो वार्षिकोत्सबको शुभकामना व्यक्त गर्ने क्रममा कुराकानी गर्दै थापाले यस्तो बताएका हुन्।
प्रहरी युनिटहरु अलि कम संख्यामा हुँदा समस्या हुने गरेको उनी बताउँछन्। अन्य हिसाबले त्यति धेरै चुनौती नभएको बताउँदै उनले थोरै संख्यामा रहेको जनशक्तिले धेरै ठाउँ हेर्नुपर्ने अवस्था रहेको बताए। ‘जनशक्ति नै हो हाम्रो वास्तवमा अलिकति समस्या भएको, त्यही ५/७ जना जनशक्ति भएको चौकीले केही ठाउँमा त ६/७ ओटासम्म वडा हेर्नुपर्ने अवस्था छ,’ उनले भने।
खटाइएको जनशक्तिको संख्या कम भएकै कारण धेरै राम्रो परिणाम दिन नसकिएको पनि उनको भनाइ छ। त्यस्तै, साधन स्रोत तथा भवनहरु धेरै टाउँमा पुगेका भए पनि कतिपय ठाउँमा कमजोरी पनि रहेको उनी बताउँछन्। सवारी साधन पुराना हुँदा समयमा उपस्थित हुन सक्ने अवस्था नरहनु पनि चुनौतिको रुपमा रहेको एसपी थापाले बताए।
जिल्लामा ठुलै आपराधिक घटनाहरु गुण्डागर्दी गर्ने, ग्याङ लिएर हिन्ने खालका गतिविधि भने नभएका उनी बताउँछन्। मानव वेचविखन सम्बन्धी भने जिल्लामा बेचविखन हो वा होइन छुट्याउनै नसकिने खालको समस्या रहेको उनी बताउँछन्। ‘घरपरिवारकै सहमतिमै कम उमेरको किशोरी ब्या गरेर पठाइद्या हुन्छन्। बझाङमा भको हुन्छ त्यो घटना हामी याँ पक्राउ गर्छौँ,’ उनले भने, ‘उनीहरुलाई फेरि इण्डियामा काम गर्न भनेर पठा हुन्छ, त्यल्लाई पुनस्र्थापना गरी फेरि परिवारमा फर्काउन, सामान्य कारबाही गर्न केके कुरा चैँ अप्ठ्यारो छ यो ठाउँमा।’
यसलाई रोक्न एकदमै चुनौती रहेको उनी बताउँछन्। परिवारकै सहमतिमा सानै उमेरमा विवाह गरेर कामका लागि भारत जाने गर्ने गरेको हुँदा माइती नेपाल जस्ता विभिन्न संस्थाले प्रहरीभन्दा महत्वपूर्ण भूमिका निभाएर काम गरिरहेका भए पनि यसमा निकै चुनौती रहेको उनी बताउँछन्।
उनले अहिलेसम्मको तथ्याङ्क हेर्दा जिल्लामा आत्महत्याका घटना धेरै पाइएका बताए। महिनाकै १६/१७ जति आत्महत्याको तथ्याङ्क रहेको उनले बताए। उनका अनुसार १२ वर्षको उमेरदेखि लिएर ७० वर्ष उमेर सम्मकाले आत्महत्या गरेको पाइएको छ। जसको कारणमा आर्थिक, पारिवारिक तथा डिप्रेशन रहने गरेको छ।
जिल्लामा मुद्दाको अवस्था हेर्दा सबैभन्दा बढी अहिलेसम्म ६० प्रतिशत मुद्दा लागुऔषधका रहेका उनी बताउँछन्। लागुऔषध सम्बन्धीका घटना भने बढ्दो अवस्थामा नै रहेको उनले बताए। लागुऔषधमा १८ देखि ३० वर्षका युवायुवती बढी संलग्न रहेका पाइएका छन्।
यो अवस्थाको निराकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए। यसले कुलतमा नफसेकालाई चेतना जगाई कुलतमा फस्न नहुने कुरामा सचेत गराउने र यसले गर्दा सेवनकर्ता घट्न गई लागुऔषध ओसारपसार तथा कारोबारमा नियन्त्रण हुनसक्ने एसपी थापाले बताए।
त्यस्तै, जिल्लाका नाकाहरुबाट भन्सार छली तथा चोरी निकासी गरी सामान भित्र्याउने कार्य धेरै हदसम्म नियन्त्रण भएको एसपी थापाले बताए। साइकलमा भन्सार छली गरेर सामान ल्याउने र ४०/६० प्रतिशत मात्रै भन्सार गरेर ल्याउने कुरालाई नियन्त्रण गर्दै अहिले साइकलमा सामान बोक्नेहरुले सय प्रतिशत नै भन्सार गरेर आइरहेको उनले बताए।
उनका अनुसार पहिले १७० जति साइकलमा सामान वारीपारी हुने गरेकोमा अहिले ५८ जति साइकलमा हुने गरिरहेको छ। जिल्लामा ठुलो मात्रामा सामान भित्रिएको अवस्था भने अहिले छैन।
उनले जिल्लावासी लगायत सम्बन्धित निकायहरुबाट अनुसन्धान तथा अपराध न्यूनीकरणमा एकदमै सहयोग पाइरहेको बताए। आफूहरु आउने जाने भइरहने हुँदा यहाँका स्थानीयले प्रहरीलाई सधैँ झकझक्याइ रहनुपर्ने उनी बताउँछन्।
गड्डाचौकी अन्तर्राष्टिय नाका भएकाले हाम्रो परिचय देखिने गरी त्यसको सुधार गरिनुपर्ने, भन्सारलाई सुरक्षित तरिकाले घेरबारभित्र राखिनुपर्ने, राजश्व संकलनको कुरामा चेतना फैलाउन पनि जरुरी रहेको उनी बताउँछन्।
त्यस्तै, उनले जिल्लामा स्वास्थ्यको क्षेत्रमा एकदमै नराम्रो रहेको बताए। ‘स्वास्थ्यको क्षेत्रमा एकदमै नराम्रो छ यहाँ,’ उनले भने, ‘अध्ययनै नगरेका मान्छेहरुले जोले चैँ औषधी छुनै नपर्ने हो त्यो खालका मान्छेले औषधी बेचेर एकदमै गम्भीर खालको रोगहरुको उपचार गर्न लागिरहेका छन्।’
दोधारा चाँदनीबाट अस्ति मात्रै त्यस्ता ११ जनालाई कारबाही गरिएको बताउँदै उनले अहिले धेरै मेडिकलहरु दर्ता नभएका र अदक्ष मान्छेहरुबाट सञ्चालन भइरहेकाले त्यसलाई विस्तारै अनुसन्धानको दायरामा ल्याइरहेको बताए। जनहितका कार्यमा आफूहरु सदैव तत्पर रहेको उनी बताउँछन्।