डडेल्धुराः डडेल्धुराको घनघस्या मावि खतेडामा यो शैक्षिक सत्रबाट ११ कक्षाको पढाइ हुने भएको छ। अजयमेरु गाउँपालिका–१ मा पर्ने घनघस्या माविमा कक्षा १० सम्म पढाई हुने गरेकोमा यस वर्षदेखि कक्षा ११ को पढाई हुने प्रधानाध्यापक शंकरप्रसाद भट्टले बताए।
गाउँपालिकाको अनुमति प्राप्त गरेर यो वर्ष शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने उनले बताए। उच्च शिक्षा अध्ययन गर्ने घोड्कटे, खतेड, बचकोट, काईराली गाउँ तथा बैतडीको कफलचौडा, डैसिलीलगायतका विद्यार्थीलाई समस्या रहेको थियो।
विभिन्न समाजसेवीहरूबाट करिब १२ लाख चन्दा संकलन गरेर विद्यालयमा ११ कक्षाको भर्ना खोलिएको विद्यालयले जनाएको छ। कक्षा ११ सञ्चालनका लागि विद्यालयले एक जना स्वयंमसेवक शिक्षक र एक निजी शिक्षक राख्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थलालले बताए।
अभिभावक र शिक्षा प्रेमि तथा चन्दादाताले कक्षा ११ र १२ को पढाई सुरु गर्नाका लागि चन्दादान गरि सहयोग गरेका छन्। दुर्गम क्षेत्रमा रहेको विललयका बलबालिका यस अघि उच्च शिक्षाका लागि अन्यन्त्र जानूपर्ने बाध्यता थियो। अब भने त्यो बाध्यता हट्ने छ।
यस विद्यालयमा अहिले १३ जना शिक्षक छन्। विद्यालयको अन्य भौतिक संरचना निमार्ण तथा मर्मत र निजी शिक्षकका लागि तलबको व्यवस्थापनका लागि चन्दा सहयोग गर्न विद्यालयले आग्रह गरेको छ।
घर नजिकै उच्च शिक्षाको पढाइ हुने भएपछि यहाँका विधार्थी हर्षित छन्। शैक्षिक सत्र सुरुवात यसै वर्षवाट हुने र अन्य भौतिक संरचना र शिक्षक दरबन्दीका लागि पहल गरी व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ।