धनगढीः धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेर व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएका छन्। धनगढीसहितका क्षेत्रका व्यवसायीहरुले अभाव सिर्जना गर्दै पम्पहरुमा ताला लगाएका हुन्। जसका कारण उपभोक्ता समस्यामा परेका छन्।
खासगरी भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने भन्दै कतिपय व्यवसायीहरुले नेपाल आयल निगमको धनगढी डिपोबाट बुझेर लगेको इन्धन थन्क्याएका छन् भने कतिपयले निगमबाट पेट्रोलियम पदार्थ उठाउन मानेका छैनन्।
आयल निगमको धनगढी डिपोबाट शुक्रबार मात्र व्यवसायीहरुले इन्धन उठाएका थिए तर उक्त इन्धन बिक्रि वितरण नगरेर उनीहरुले भण्डारण गरेर राखेपछि अभाव सिर्जना भएको हो। धनगढीका पेट्रोल पम्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै सवारीसाधनलाई बिक्रि वितरण गरेका छैनन्।
पेट्रोलिय पदार्थ ढुवानी व्यवसायी संघका अध्यक्ष मनीराम पाण्डेले डिलरहरुले आयल निगमबाट पेट्रोलिय पदार्थ नउठाउदा समस्या भएको बताए। ‘भारतमा १५ र १ तारेखमा मूूल्य घट्न सक्ने भन्दै डिलरहरुले पेट्रोलिय पदाथ उठाउन नमान्दा अहिले बजारमा आपुर्ति हुन नसकेको हो,’ पाण्डेले भने, ‘यो विषयमा हामी छलफल गरिरहेका छौँ।’
नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले शुुक्रबार प्रदेशका सबै जिल्लाका डिलरलाई पेट्रोलिय पदार्थ वितरण गरिएको बताउँदै आइतबार निगमको इआरपी प्रणाली अवरुद्ध हुँदा समस्या भएको बताए। शाहले मंगलबार भने दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल बजारमा पठाउने तयारी भइरहेको जानकारी दिए।
भारतमा इन्धनको मूल्य घट्ने व्यवसायीहरुको प्रक्षेपणका कारण पनि कतिपयले व्यवसायीले पेट्रोलिय पदार्थको माग नगरेको पनि हुुनसक्ने उनको भनाई छ ।