काठमाडौं : कान्तिपुर टेलिभिजनले विवादास्पद शो ‘ह्वाट द फ्लप’ को प्रसारण बन्द गरेको छ ।
गत असार २३ गते शनिबारको श्रृंखलामा अभिनेता पल शाहसँग सञ्चालक सन्दीप क्षेत्रीले लिएको अन्तरवार्ता विवादमा परेपछि कान्तिपुर उक्त कार्यक्रम बन्द गर्ने निर्णयमा पुगेको हो । कार्यक्रममा सञ्चालक क्षेत्रीले महिलाबारे निकै हल्का र गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका थिए ।
अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उक्त श्रृंखला युट्युबबाट हटाइएको थियो । त्यसपछि पनि सोही कार्यक्रमलाई लिएर आमआलोचना नरोकिएपछि कान्तिपुरले महिलाको आत्मसम्मान र समाजको चेतनालाई सम्मान गर्दै अब उप्रान्त ‘ह्वाट द फ्लप’ प्रसारण नगर्ने बताएको हो ।
कान्तिपुरले आज प्रकाशित गरेको सूचनामा ‘ह्वाट द फ्लप’ कार्यक्रमको ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द प्mलप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं,’ सूचनामा भनिएको छ, ‘महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।’