डडेल्धुरा: गत असार ३० गते डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे। जिल्लाको अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित समातिएको थियो।
भण्डारीसँग इजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको थियो।
उनीसँग त हतियारको इजाजत(लाइसेन्स) थिएन। तर, हालसम्म जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट १ हजार ३० जनाले हतियार(बन्दुक) को इजाजत लिएको तथ्यांक छ। प्रशासनका नायब सुब्बा चन्द्र रोकायाका अनुसार ९३७ वटा भरुवा, ८३ वटा १२ बोरका बन्दुक र २२ बोरका १० बन्दुक प्रशासनमा दर्ता भइ इजाजत दिइएको छ।
हाल ती मध्ये भरुवा ५५, २२ बोरका ८ र १२ बोरका ५ गरेर ६८ लाइसेन्स मात्रै नविकरण भएको उनले बताए। बाँकी ९६२ वटा लाइसेन्स नविकरण भएका छैनन्। ती इजाजत दिइएका बन्दुक किन नविकरण भएनन् र कहाँ छन् भन्ने जानकारी प्रशासनसँग छैन।
नेपाल सरकारले विशिष्ट भनिएका व्यक्तिहरूलाई छुट्टै खालको सुरक्षा व्यवस्था दिँदै आएको छ। यसबाहेक हुने खाने वर्गका सर्वसाधारणलाई पनि हतियार राख्ने छुटको व्यवस्था सरकारले गरेको छ। ती लाइसेन्सप्राप्त हतियारको गलत प्रयोग भएमा कारबाही हुने प्रावधान छ।
बन्दुक राख्दा गर्दा हातहतियार तथा खरखजाना ऐन, २०१९ अन्तर्गत इजाजतपत्र भने आवश्यक पर्दछ। यससम्बन्धी नियमावली, २०२८ मा हावादारी बन्दुकबाहेक एक व्यक्तिलाई बढीमा तीन नालसम्म र एक परिवारलाई बढीमा ६ नालसम्म हातहतियार राख्न इजाजतपत्र दिन मिल्ने प्रावधान छ। हतियार राख्नका लागि उमेर र मानसिक स्वास्थ्य, नागरिकता र प्रतिष्ठा संगीन फौजदारी अभियोगमा सजायँँ नपाएको, शिकार र हातहतियारसम्बन्धी कसूरमा सजायँँ नभोगेको हुनुपर्छ।
त्यसैगरी, हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ ले हातहतियार राख्न तिर्नुपर्ने शुल्कको व्यवस्था गरेको छ। जसअनुसार पेस्तोल, रिभल्वर वा मिनिएचर राइफलसहित अन्य राइफल राख्न प्रत्येकको पाँच हजार रुपैयाँ इजाजतपत्र दस्तुर बुझाउनुपर्छ। नेपालभरको हकमा ६ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने प्रावधान छ।
टोटावाल बन्दुक वा मिनिएचर राइफल प्रत्येकको जिल्लाभर इजाजतपत्र दस्तुर चार हजार र मुलुकभर पाँच हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। भरुवा बन्दुक राख्नका लागिसमेत ३ हजार शुल्क तोकिएको छ। लाइसेन्सधारीले सालसालै नविकरण गर्नसमेत शुल्क तिर्नुपर्छ।
यसै प्रावधान अनुसार डडेल्धुरामा इजाजत प्राप्त हतियारको संख्या १ हजार ३० रहेको पाइएको छ। तर ती मध्ये ९६२ बन्दुकको अवस्था अज्ञात छ। हराएका हतियारधारीमध्ये कतिपय नविकरण गर्न आउँदैनन् भने कतिपयसँग हतियार नै छैन। नेपालमा जनयुद्ध हुँदा बखत प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो। धेरै हतियारको इजाजत प्राप्त गरेकाहरुले प्रहरीलाई बन्दुक बुझाए। तर, उनीहरुले फिर्ता भने पाएनन्। ती बुझाइएका बन्दुकको खबर प्रशासन र प्रहरीसँग छैन।
स्रोतका अनुसार ती हतियार प्रहरी तालिम केन्द्र दिपायलमा पाठाइएका थिए। तर, तालिम केन्द्रले हतियार फिर्ता पठाएन। हतियारका मालिकले धेरै पटक आफ्नो बन्दुक फिर्ता दिन निवेदन दिए। उक्त निवेदन अनुसार प्रशासनले गृहमन्त्रालयमा हतियारको जानकारी माग गर्यो। तर, उताबाट कुनै जबाफ आएको छैन।
यस्तै जनयुद्धका बेला नै केहि बन्दुक तत्कालीन बिद्रोही माओवादीले लगेका थिए। ती बन्दुकसमेत फिर्ता गरिएको छैन। त्यस्तै धेरै बन्दुक बिग्रेको र धेरै लुकाउँदा हराएको समेत बताइन्छ।