धनगढी: राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उल्लङ्घन गरेबाफतको जरिबाना रकम बैंकमार्फत भुक्तानी गराउन थालेको छ ।
पहिलो चरणमा साउन १ गतेबाट डोटी, कैलाली र कञ्चनपुरमा ट्राफिक जरिबाना वाफतको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम लागु गरिएको हो ।
कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्रकुमार पालका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिनेछ । त्यो अवधिमा नजिकको बैंकमार्फत जरिबाना भुक्तानी गरिएको भौचर देखाए मात्रै कागजात फिर्ता दिइनेछ ।
नगदी रसिदमार्फत गरिँदै आएको जरिबानालाई प्रविधिमैत्री एवम् पारदर्शी बनाउन बैंकमार्फत जरिवाना भुक्तानी गर्ने व्यवस्था सुरु गरिएको बताइएको छ ।
Facebook Comments Box