धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम प्रदेशका सहसंयोजक एवं पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो विवाहलाई गुपचुप राखेको खुलेको छ। पार्टीको प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका शाहीले आफ्नो विवाहित जीवनबारे गुपचुप राखेका छन्।
स्रोतका अनुसार शाहीले केही वर्षअघि नै अन्तरजातीय विवाह गरेका थिए। शाहीले श्रीमतीको रुपमा इन्दु सुनारलाई भित्र्याएका थिए। शाही जुम्लाका हुन् भने इन्दुको स्थायी घर तनहुँको भीमाद नगरपालिकामा रहेको बताइन्छ। हाल शाही र सुनार काठमाडौंमै बस्ने गरेका छन्। तर उनीहरु छुट्टै बस्ने गरेको स्रोतको दाबी छ।
स्रोत भन्छ-‘ शाहीले अन्तरजातीय विवाह भएकै कारण करिब ५ वर्षदेखि आफ्नो सम्बन्ध लुकाइरहेका छन्। धेरै ठाउँमा उनले आफू अविवाहित भएको कुरा गर्ने पनि गरेका छन्। आफ्नी श्रीमती दलित समुदायको भएकै कारण शाहीले यो विवाह गोप्य राखेका हुन्।’
उता शाहीले भने यसबारे स्पष्ट पार्ने भन्दा पनि आफ्नो बारेमा अरुलाई चासो नदिन भनेका छन्। उनले आफ्नो विवाह जमानामै भएको भन्दै आफ्नो व्यक्तिगत कुरालाई इस्यु नबनाउन आग्रह गरे। यस्तै आफ्नो विवाह मन्दिरमा बकाइदा भएको र कहिल्यै नलुकाएको उनको भनाई छ।