धनगढी: धनगढीमा अवैध रुपमा अस्पताल चलिरहेको पाइएको छ। गत वर्षको असारबाट संचालनमा आएको धनगढीस्थित संजीवनी अस्पताल अवैध रुपमा चलिरहेको पाइएको हो।
स्रोतका अनुसार मेडिकल माफियाको नामले परिचित दुष्यन्त बस्नेत सञ्चालक रहेको सो अस्पतालले हालसम्म पनि संचालन स्वीकृती पाउन सकेको छैन्। सो अस्पताल बस्नेतले बिना स्वीकृति चलाइरहेका छन्।
यति मात्र होइन, सेती प्रादेशिक अस्पतालको नजिकैबाट सेवा संचालन गरेको अस्पतालले सोही ठाउबाट संचालन स्वीकृती नपाउदा राष्ट्र बैंक नजिकबाट पनि सेवा संचालन गरीरहेको छ। संजीवनी अस्पतालले गत वर्ष संचालन स्वीकृतीका लागि धनगढी उपमहानगरपालिकामा निवेदन दिएको थियो। तर, उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि अनुमति प्रक्रिया रोकेको थियो।
धनगढी उपमहानगरले अनुमति नदिएपछि संजीवनी अस्पतालका संचालकहरु सोही भौतिक संरचना र ठाउँमै २५ शैय्याको संचालन अनुमति लिन स्वास्थ्य कार्यालय कैलाली पुगेका थिए। स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्थालाई अनुमति नदिने कानुन बनाएको बताएपछि त्यहाँबाट पनि अस्पताल संचालन अनुमति पाउन सकेन।
त्यसपछि पनि सो अस्पतालले २ ठाउँबाट नै सेवा संचालन गरिरहेको छ। अझ फेरि पुनः धनगढी उपमहानगरबाटै अनुमति लिन ४ असार २०८० मा संचालन अनुमतिको निवेदन दर्ता गराइएको छ तर दोस्रोपटक भने अस्पताल संचालन गर्न खोजेको ठाउँ खोला किनारमा रहेको छ।
धनगढी उपमहानगरको तारानगर र हसनपुरबाट आउने सुुकुटीनाला नाला किनारमा अस्पताल संचालन भईरहेको छ। यसले उक्त अस्पतालबाट निस्किने अस्पतालजन्य फोहोर नालामा मिसिने खतरा छ। तर यता, संजीवनी अस्पतालका संचालक दुष्यन्त बस्नेतले भने अवैध रुपमा अस्पताल संचालनमा नरहेको दाबी गरे। उनले अस्पतालको स्वीकृत अनुमति लिने प्रक्रियामा रहेको महेन्द्रनगरपोष्टलाई बताए। यस्तै अस्पताल दुई ठाउबाट संचालन नभएको र सुकुटी नाला नजिकको अस्पताल भनेको ठाउँमा फार्मेसी मात्र रहेको उनले बताए।
उनका अनुसार त्यहाँ फार्मेसी र एक डाक्टरको निजी क्लिनिक मात्रै संचालनमा छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ मा उपमहानगरपालिकाले नगर क्षेत्रमा संचालित सबै स्वास्थ्य संस्था अनुगमन गर्न सक्नेछ भनि उल्लेख गरिएको छ। तर, हालसम्म पनि उपमहानगरले नगरक्षेत्र भित्रका स्वास्थ्य संस्था अनुगमन भने गरेको छैन।