कञ्चनपुर: सोमबार मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गतको इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो। तर, १२ बजे बाँडिएको प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए।
ती सबै प्रश्न पाठ्यक्रममै नरेहको कञ्चनपुरको एक परिक्षा केन्द्रमा रहेका विद्यार्थीहरुले भेउ पाए। जनज्योति बहुमुखी क्याम्पसमा परिक्षा दिइरहेका विद्यार्थीले त्यसको विरोध गरे। उनीहरुले पढ्नु नपर्ने भन्दै परीक्षा नै नदिने अडान लिएका थिए।
त्यसपछि क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पाठ्यक्रम भन्दा बाहिरको सोधिएको स्वीकार गर्दै त्रिविको परीक्षा नियन्त्रण कार्यालयसँग कुरा गरेका थिए। त्यसको ५० मिनेटपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएको थियो।
अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिएका छन्।जनज्योति बहुमुखी क्याम्पस कञ्चनपुरका परीक्षार्थी पवन अवस्थीले पाठ्यक्रममै नभएका प्रश्न सोधिएको बताए। नेपालको इतिहास, पर्यटनको विषयमा पढ्नुपर्ने तर प्रश्नपत्रमा भारतसँग सम्बन्धित धेरै प्रश्न सोधिएको उनले बताए।
यसरी विद्यार्थीले पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा नदिने अडान लिएपछि त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नै परिवर्तन गरेको छ।