धनगढीः कैलालीको धनगढीमा अनुमति विना क्लिनिक सञ्चालनमा रहेका पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए।
दुवैजना विरुद्द मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत ईलाज सम्बन्धी कसुर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। थप अनुसन्धान जारी रहेको चन्दले बताएका छन्।