काठमाडौं: सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ। यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो।
वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ। सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे।
नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो। किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने क्षतिमा क्षतिपूर्ति दिने व्यवस्था शुरु गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिए। अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन्।
भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन। यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरु जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ।