कैलाली: कैलालीको टीकापुर नगरपालिका–४, थानापुरका वीरबहादुर चौधरी (३३) सानो किराना पसल चलाउँथे। पसल श्रीमतीले सम्हाल्थिन्। उनी चाहिं टीकापुर बजारका ठूला किराना पसलबाट खुद्रा सामान साइकलमा लिएर गाउँका पसलहरूमा पुर्याउने काम गर्थे। टीकापुर घटनाको दिन अर्थात् २०७२ भदौ ७ गते पनि उनी साइकलमा सामान बेच्न निस्किएका थिए।
संविधानमा आफ्नो मुद्दा समेट्न माग गर्दै थारू समुदायले टीकापुर लगायत क्षेत्रमा आन्दोलन गरिरहेको थियो। वीरबहादुरका अनुसार उनी आन्दोलनमा सहभागी थिएनन्। घटनाको दिन सामान पुर्याएर आन्दोलन शुरू हुनु अगावै उनी घर फर्किसकेका थिए।
त्यही दिन आन्दोलनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गयो।
घटनापछि आफ्नो नियमित दिनचर्यामै थिए उनी। घरमै थिए। भदौ १२ गतेको राति प्रहरीले घरमा घेरा हाल्यो र सोधपुछका लागि भन्दै गिरफ्तार गर्यो। त्यसयता उनी कैलाली कारागार, धनगढीमा जन्मकैद (२० वर्ष)को सजाय काटिरहेका छन्। मुलुकी ऐनमा जन्मकैद २० वर्षको हुने व्यवस्था छ। यस बाहेक ज्यान मार्ने उद्योगमा थप पाँच वर्ष कैद बस्नुपर्ने अदालतले फैसला गरिदिएको हो।
टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत ५८ जना विरुद्ध जिल्ला अदालत, कैलालीमा मुद्दा चलायो। तीमध्ये रेशम चौधरी, लक्ष्मण थारू लगायत २७ जना पक्राउ परेकोमा जिल्ला अदालत र उच्च अदालत दिपायलबाट रेशम सहित १० जनालाई जन्मकैदको सजाय भएको थियो। सर्वोच्च अदालतले पनि घटनाको मुख्य योजनाकारको अभियोग लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमबारे उच्च अदालतकै फैसला सदर गरिदिएको थियो।
यो घटनामा ६ महीनादेखि १० वर्ष र जन्मकैदको फैसला भएर जेल परेकामध्ये कोही सजाय पूरा गरेर त कोही सफाइ पाएर थुनामुक्त भए। जन्मकैदको सजाय काटिरहेका रेशम पनि सरकारको सिफारिशमा राष्ट्रपतिबाट सजाय मिनाहा पाएर गत जेठ १५ गते गणतन्त्र दिवसमा रिहा भइसकेका छन्।
जेठ १५ गते डिल्लीबजार कारागारबाट छुटेपछि रेशम चौधरी। तस्वीर: सुमन नेपाली/हिमालखबर
अहिले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका आफू सहित तीन जना जेलमा रहेको वीरबहादुर बताउँछन्। प्रदीप चौधरी (२५) र हरिनारायण चौधरी (२७) वीरबहादुर रहेकै कैलाली कारागारमा छन्। यस बाहेक यही घटनामा श्रवण चौधरी, संगम भन्ने सन्तोष थारू, विश्राम भन्ने जितबहादुर डगौरा र दिलबहादुर चौधरी १० वर्षको जेल सजाय काटिरहेका छन्।
राजनीतिक आन्दोलनको क्रममा भएको एउटै घटनामा जेल परेकामध्ये नेताहरू रिहा भएको र आफूहरू निर्दोष हुँदाहुँदै सजाय भोगिरहेको वीरबहादुर बताउँछन्।
“पहुँच हुनेहरू छुटे, हामी कमैयालाई त कसले चिन्छ र!” उनी भन्छन्, “राज्यले त विभेद गर्यो गर्यो, जेलमा रहँदा हामीले नेता मानेकाहरूबाट पनि धोका पायौं।”
जेलमा रहेका चारै जनाको घरको अवस्था नाजुक रहेको वीरबहादुर बताउँछन्। छोराछोरीको पढाइ बिग्रिएको र श्रीमतीले एक्लै मजदूरी गरेर घर चलाइरहेको सम्झँदा मन भक्कानिन्छ। उनी भन्छन्, “हामी नेताहरूको लागि धितोपत्र जस्तै भयौं। हाम्रो नाम बेचेर उनीहरू मन्त्रीसम्म बने तर हाम्रो परिवारको आँसु देखेनन्।”
नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमिव्यवस्था तथा सहकारी मन्त्री छिन्। रञ्जिता रेशमकी श्रीमती हुन्। सत्ताको आडमा रेशम आफू मात्रै रिहा भएको कारागारमा रहेकाहरूको गुनासो छ।
वीरबहादुरका अनुसार रेशमले एकपछि अर्को आश्वासन भने दिइरहेका छन्। पछिल्लो पटक आउँदो असोज ३ गते संविधान दिवसमा थुनामुक्त हुने आशा देखाएको उनी बताउँछन्। “रेशमको विश्वास नगरौं त विकल्प छैन, विश्वास गरौं त पटक पटक निराश भइसकेका छौं,” उनी भन्छन्।
‘पहुँच नहुनेहरू मात्र जेलमा रह्यौं’
टीकापुर घटनाका कारण धेरैको जिन्दगी र घरबार बिथोलिएको तर नेताहरूले त्यही घटनालाई भजाएर राजनीति गरेको यस मुद्दामा जेल परेकाहरूको आरोप छ।
घटना लगत्तै फरार भएका रेशम चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। उनले २०७४ फागुन १४ गते अदालतमा आत्मसमर्पण गरेका थिए। हिरासतमै रहँदा सांसदको शपथ लिएका उनी दोषी ठहर भएपछि पद निलम्बित भयो। २०७९ सालको प्रतिनिधि सभा चुनावमा पनि उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं. १, २ र ३ मै विजयी भयो।
२०७२ सालमा नयाँ संविधान लेखिंदै गर्दा थारू समुदायको अधिकार र पहिचानको माग सहित थरुहट/थारुवान् आन्दोलन उठेको थियो। थारू बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेश बनाउनुपर्ने उनीहरूको माग थियो। आन्दोलनकै क्रममा भदौ ७ गते नौ जनाको ज्यान जाने गरी टीकापुर घटना भयो।
घटनामा पक्राउ परेकाहरूको मुद्दामा २०७५ फागुन २२ गते जिल्ला अदालत, कैलालीले रेशम सहित १० जनालाई जन्मकैद सजाय सुनायो भने रामनरेश चौधरी, नुरुल जागा र विश्राम कुश्मीलाई सफाइ दियो। उक्त फैसला अनुसार ६ महीनादेखि तीन वर्षको जेल सजाय भुक्तान गरेर लक्ष्मण थारू सहित १३ जना थुनामुक्त भए। नाबालिग करन चौधरीलाई ६ महीना र श्रवण चौधरीलाई १० वर्ष जेल सजाय सुनाइएको थियो।
उक्त फैसलाबाट अन्याय महसूस गरेका बन्दीहरूले २०७६ जेठमा उच्च अदालत, दिपायलमा पुनरावेदन गरे। २०७७ पुस २ गते फैसला गरेको उच्च अदालतले लक्ष्मणबारे जिल्ला अदालतको फैसला उल्टाइदियो। लक्ष्मण र रेशम सहित सात जनालाई जन्मकैदको फैसला भयो। जिल्ला अदालतले तीन वर्ष सजाय तोकेका सन्तोष थारू, दिलबहादुर चौधरी र जितबहादुर डगौरालाई उच्च अदालतले १० वर्षको सजाय गर्यो।
कैदीहरूका तर्फबाट सफाइको माग गर्दै २०७८ साउन १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरियो। २०८० जेठ २ मा फैसला गरेको सर्वोच्च अदालतले लक्ष्मणलाई घटनामा मतियार मात्र मान्दै उच्च अदालतको फैसला उल्टाएर जिल्ला अदालतले गरेकै तीन वर्षको सजाय सदर गर्यो। यस्तै, रेशम र अहिले कैलाली कारागारमा रहेका तीन जनालाई जन्मकैद तोकेको थियो। जिल्ला र उच्च अदालतले जन्मकैद सजाय गरेका सीताराम चौधरी र गंगाराम डगौराले सफाइ पाए।
अदालतको फैसला अनुसार पाँच वर्षको सजाय काटेर रामप्रसाद चौधरी, सन्तराम चौधरी, प्रेम चौधरी, किशन चौधरी, राजकुमार कठरिया, सुन्दर कठरिया, राजेश चौधरी र बृजमोहन डगौरा थुनामुक्त भइसकेका छन्। यस्तै, लाहुराम चौधरी, चुन्नीराम चौधरी र रामकुमार कठरियाले पनि तीन वर्षको सजाय भुक्तान गरिसकेका छन्।
कैलाली कारागारमा रहेका प्रदीप चौधरी जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पुगे पनि आफूहरूले न्याय नपाएको बताउँछन्। “नेताहरू छुटे, हामी पहुँच नभएकाहरू मात्रै भित्र रह्यौं। हामीसँग नेताहरूले दिएका आश्वासन मात्र छ,” उनी भन्छन्।
प्रदीप चौधरी
प्रदीप २०७२ भदौ २८ गते पक्राउ परेका हुन्। पक्राउ पर्दा उनी १७ वर्षका मात्रै थिए। उनका अनुसार सर्वोच्च अदालतको फैसला आए पश्चात् गत जेठ १३ गते नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारू कारागारमा आएर ‘पुनरावलोकनमा जाने कि आममाफीको लागि फाइल अघि बढाउने’ भनी सोधेका थिए। उनले ‘रेशम दाजु पुनरावलोकनमा जाने कुरा छ, म पनि उहाँसँगै पुरावलोकनमा जान्छु, अरूलाई आममाफीका लागि पहल गर्नुस्’ भने। तर, जेठ १५ गते रेशम एक्लै आममाफी पाएर छुटेको थाहा पाएर उनी आश्चर्यमा परे। “रेशम छुट्दै छन् भनेर पहिला खबर नै पाएनौं, यसबाट धेरै निराश भयौं,” उनी भन्छन्।
प्रदीपका अनुसार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीहरूलाई पहिलेको तुलनामा अहिले निकै फरक अनुभूति हुने गरेको छ। लक्ष्मण थारू कारागारमै छँदा बाँकी कैदीलाई नेतृत्वको आडभरोसा थियो। मान्छेहरू भेट्न आइराख्थे। चाडपर्व र अरू वेला पनि खानेकुरा र अन्य सहयोग टुट्दैनथ्यो। अहिले सुनसान छ। उनी भन्छन्, “पहिलाको भन्दा धेरै फरक छ। मानौं टीकापुर मुद्दा नै सकियो।”
उनका अनुसार २७ जना अभियुक्तको सगोलमा वकील हुँदाहुँदै रेशमले आफ्नो लागि छुट्टै वकील राखेका थिए। सगोलका वकीलहरूले पनि लक्ष्मण र रेशममा केन्द्रित भएर बहस गर्दा आफूहरू ओझेल परेको उनको भनाइ छ। “हाम्रो कुरै सुनिएन, मिडियाले पनि नेताहरूको आवाजलाई मात्रै प्राथमिकता दियो। रेशम छुटेपछि टीकापुर मुद्दाबारे खबर नै आउन छोड्यो,” प्रदीप भन्छन्।
परिवारको चिहिलबिहिल
टीकापुर घटनाका बन्दीका परिवार घरको आडभरोसाको टेको र कमाउने व्यक्ति नभएपछि बिचल्लीमा छन्। हरिनारायण चौधरी मुक्त कमैया परिवारका हुन्। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ स्थित शिवशक्ति मुक्त कमैया शिविरमा उनको घर छ। उनका बुबा चैतु डगौरा धनगढीको कबाडीखानामा काम गर्छन् भने आमा सोनिया सरकारले दिएको तीन कठ्ठा जमीनमा तरकारी खेती गर्छिन्। यसबाट परिवारको गुजारा मुश्किलले चल्ने गरेको छ।
हरिनारायण टीकापुर घटना हुनुभन्दा तीन महीना अगाडिदेखि भारतको गुजरातमा बुबासँगै मजदूरी गर्थे। आमालाई भेट्न केही दिनका लागि घर आएका उनी भदौ ८ गते गुजरात फर्कने तयारीमा थिए, अघिल्लो दिन नै पक्राउ परे। सोनियाका अनुसार भदौ ७ गते आन्दोलनमा जाँदै गर्दा बाटोमै छोराको शरीरमा गोली लागेको थियो। रेडक्रस नेपालले उनलाई टीकापुर अस्पताल लगेको थियो, उनी त्यहींबाट पक्राउ परे।
हरिनारायणकी आमा सोनिया रेशम जेलबाट रिहा भएपछि आफ्नो छोरा सहित बाँकी बन्दीलाई छुटाउन पहल गरेको खबर खासै नसुनेको बताउँछिन्। “उनलाई अबीर–माला लगाउन र पार्टीको प्रचार गर्नै ठिक्क छ, हाम्रो बारेमा एक शब्द बोल्न फुर्सद छैन,” उनी भन्छिन्।
सोनिया चौधरी
सोनियाका अनुसार रेशम जेलबाट आफू मात्रै छुटेपछि उनलाई नभेट्ने मनसाय बनाएकी थिइन्। तर, रेशम घरमै आए र आगामी असोज ३ गते छुटाउने वचन दिएर गए। घरखर्च चलाउन मासिक पाँच हजार रूपैयाँ दिने आश्वासन पनि दिए। तर, अहिले के हुँदै छ भनेर बुझ्न रेशम र रञ्जितालाई फोन गर्दा नउठ्ने गरेको उनको गुनासो छ।
“हाम्रा मान्छे छुट्छन् भन्ने आशाले चुनावमा नागरिक उन्मुक्ति पार्टीको प्रचारमा लाग्यौं, रञ्जिता हाम्रो घरमै आएर सान्त्वना दिइन् तर मन्त्री बनिसकेपछि वास्ता छैन,” उनले भक्कानिंदै भनिन्, “टीकापुर घटनाको आडमा केही मान्छेले राज गरिरहेका छन्, हाम्रो बच्चा चाहिं जेलमा सडिरहेका छन्।”
टीकापुर घटनाकै नाममा आर्थिक सहयोग उठाइएको तर उक्त रकम आफूहरूसम्म आइनपुगेको उनी बताउँछिन्। उनी भन्छिन्, “कतिपय सहयोगीले फोन गरेर ‘पैसा पठाइदिएका छौं, पाउनुभयो कि छैन’ भनेर सोध्छन्। हाम्रो नाममा आएको पैसा कहाँ जान्छ? नेताहरूले हाम्रो नाम मात्रै बेचेनन्, हामीलाई समेत बेचिसके।”
वीरबहादुरकी श्रीमती रामदैया चौधरीको पीडा पनि उस्तै छ। श्रीमान् जेल परेपछि दुई छोरी र एक छोरालाई ज्याला मजदूरी गरेर निकै दुःखले हुर्काएको उनी बताउँछिन्। उनका अनुसार परिवारको पेट जसोतसो पाले पनि खर्च अभावमा छोराछोरीको पढाइ रोकियो। छोरा राकेश कक्षा १२ उत्तीर्ण गरेर बसेका छन् भने जेठी छोरी निशाले कक्षा नौ पढ्दापढ्दै बीचमै छोडिन्। कान्छी छोरी नोकी कक्षा ६ मा पढ्दै छिन्। “छोराछोरीको पढाइ राम्रो हुँदाहुँदै आर्थिक अवस्थाकै कारण उनीहरूको भविष्य बिग्रियो,” उनी भन्छिन्।
रामदैया चौधरी
रामदैयाको परिवारले छिमेकीको घरबाट तार तानेर बिजुली बाल्दै आएको थियो। श्रीमान् जेल परेपछि बिजुलीको बिल तिर्न सक्दैन भनेर छिमेकीले लाइन काटिदिए। “चार वर्षसम्म मोबाइलको बत्ती बालेर छोराछोरीलाई होमवर्क गराएँ,” उनी कठिनाइका दिन सम्झन्छिन्। पाँचौं वर्षमा थारू विद्यार्थी समाजका जिल्ला अध्यक्ष आशिष चौधरी लगायतले घरमा बिजुली जोडिदिएको उनी बताउँछिन्।
सत्तामा पुगेपछि नागरिक उन्मुक्ति पार्टीका नेता आफूहरूसँग बोल्नै छाडेको बताउँदै उनी घरको न घाटको भएको दुखेसो पोख्छिन्। टीकापुर क्षेत्रमा अहिले नागरिक उन्मुक्तिपछि नेपाली कांग्रेसको पकड बलियो छ। कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीकहाँ गएर पनि श्रीमान्लाई छुटाउन आग्रह गरेको रामदैया बताउँछिन्। तर, ‘जिताउने वेला उन्मुक्ति पार्टीलाई जिताउने, सहयोग हामीसँग माग्ने’ भन्ने जवाफ पाएको उनको भनाइ छ।
पोखरा सुधारगृहमा रहेका श्रवणकी आमा राजकुमारी चौधरी पनि उन्मुक्ति पार्टीका नेताहरूको विश्वास लाग्न छोडेको बताउँछिन्। उनी भन्छिन्, “रेशम जेलमा हुँदा रञ्जिताले हामी सबैको पीडा एउटै हो भन्थिन् तर रेशम छुटेसँगै पीडा पनि भुलिन्।” छोरा सहित बाँकी बन्दीको विषयमा बुझ्न फोन गर्दा रञ्जिताले नउठाउने गरेको उनी बताउँछिन्। छोरा निर्दोष हुँदाहुँदै जेल बस्नुपरेको र नेताहरूको बेवास्ताले झन् पीडा दिएको उनको गुनासो छ।
राजकुमारी चौधरी
प्रदीप चौधरीको परिवारमा बुबा र दिदी मात्रै छन्। दिदी रञ्जिताका अनुसार आन्दोलनमा भाइ सहभागी थिएनन्। टीकापुर घटनाको दिन पनि उनी विद्यालयबाट सरासर घर आएका थिए। त्यस वेला उनी कक्षा ९ मा पढ्थे। तर, घटनामा संलग्न भएको अभियोगमा २०७२ भदौ २६ गते उनलाई पक्राउ गरियो। भाइ जेल गएपछि पीरैपीरमा आमाको मृत्यु भएको उनी बताउँछिन्।
प्रदीप चौधरीकी दिदी रञ्जिता र बुवा कल्पु चौधरी
एउटै मुद्दामा कसैले न्याय पाएको र आफूहरूले नपाउँदा पीडा भएको रञ्जिता बताउँछिन्। “रेशम छुट्दा नागरिक उन्मुक्ति पार्टीका नेताहरूले न्याय पायौं भन्दै भाषण गरे, के रेशम मात्रै जेलमा थिए र?” उनी भन्छिन्, “रेशम जेलमा हुँदा टीकापुर मुद्दाबारे सबैलाई चासो थियो, अहिले मुद्दा सेलाए जस्तै भएको छ।”
रेशम भने आफू जेलबाट छुटेपछि सबै बन्दीका परिवारलाई भेटेको र उनीहरूले दैनिकजसो फोन गर्ने गरेको बताउँछन्। “टीकापुर घटनाका बाँकी बन्दीहरूलाई असोज ३ गते संविधान दिवसको अवसरमा रिहाइ गर्ने सरकारले हामीलाई वचन दिएको छ,” उनी भन्छन्।
टीकापुर घटनामा जेल सजाय भोगिरहेका बन्दीसँग भेटघाट गर्न जेठ १७ गते कैलाली कारागार पुगेका रेशम।
थारू कल्याणकारिणी सभा, टीकापुरका पूर्व अध्यक्ष बाबुराम डगौरा थारू नेताहरू जेलमा छँदासम्म उक्त संस्था बन्दीहरूको रिहाइका लागि सक्रिय भएर लागेको तर अहिले सबै मौन रहेको बताउँछन्। “बैठक र छलफल केही पनि छैन। टीकापुर मुद्दाबारे सबै बोल्न छोडिसकेका छन्,” उनी भन्छन्।
टीकापुर घटनाका बन्दीको मुद्दामा बहस गरेका अधिवक्ता शंकर लिम्बु बन्दीहरूमाथि अन्याय भएको बताउँछन्। “एउटै मुद्दामा रेशम चौधरीलाई आम माफी दिनु र अरूलाई नदिनु गलत हो,” उनी भन्छन्, “आम माफी दिनु पनि कानूनी प्रक्रिया नै हो, त्यसैले अरूलाई पनि रिहा गरिनुपर्छ।” हिमाल खबरबाट