काठमाडौं : अवतरण हुँदै गरेको जहाजमा एक यात्रुले आकस्मिक द्वार खोलेपछि लफडा भएको छ । पोखराबाट काठमाडौँ आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भैरहेका बेला सोही जहाजका यात्रु संगीत भुसालले आकस्मिक डोर खोलेपछि लफडा भएको हो ।
बुद्धको बिएचए-६५४ उडानमा पोखराबाट आएको जहाज पौने चार बजे अवतरण गरेपछि जहाजका यात्रुहरु ओर्लंदै थिए । सोही क्रममा पर्वतको फौय्यु गाउँपालिका(७ स्थायी घर भएका शोभाकर भुषालका छोरा अन्दाजी १६ वर्षका संगीत भुषालले जहाजको पछाडिपट्टि यात्रु ओर्लने भर्याङ्ग छेउको आकस्मिक द्वार अन्जानबश खोलिदिए ।
लगत्तै उनलाई जहाजका कर्मचारीले समातेर प्रहरीलाई बुझाएका थिए । नेपाल प्रहरी, अध्यागमन र बुद्ध एयरका कर्मचारीहरुको छलफलमा संगीतका बाबु शोभाकरले लिखित माफीनामा पत्र लेखेपछि सवा ५ बजे सम्झाई बुझाइ गरेर छोडिएको जनाइएको छ ।
यात्रु नाबालिग भएका कारण आइन्दा यस्ता कार्य नगर्ने शर्तमा छोडिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।