डडेल्धुरा: भारतीय जनता पार्टी(भाजपा)को निमन्त्रणामा अहिले नेकपा माओवादीको टोलीले भारत भ्रमण गरिरहेको छ। ‘बीजेपीलाई चिनौं’ अभियानका क्रममा माओवादीको उच्चस्तरीय टोली भारत पुगेको हो।
टोलीमा नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल, रामेश्वर यादव, चक्रमणी खनाल, सत्या पहाडी र सुरेश कुमार राय लगायत रहेका छन्।
टोलीले ३ दिनअघि दिल्लीमा भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डासँग भएको भेटवार्ता गरेको थियो। उक्त भेट निकै फलदायी एवं ऐतिहासिक रहेको भुषालले बताइन्। उनले नेकपा(माओवादी केन्द्र) र भाजपाबीच भएको अनुभव आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप महत्वपूर्ण हुने विश्वास लिएकी छिन्।
हिजो मात्रै उनीहरूले देहरादुनस्थित भाजपाको उत्तराखण्ड प्रदेश कार्यालय पुगेका थिए। उत्तराखण्डका प्रदेश अध्यक्ष महेन्द्र भट्टसँगको भेटमा माओवादी टोलीले दुवै देशको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने संकल्प लिएका थिए।भारतीय जनता पार्टी(भाजपा) र नेकपा(माओवादी केन्द्र) बीच अनुभव आदानप्रदानले दुवै देश सम्बन्ध थप उचाईमा पुग्ने प्रदेश अध्यक्ष भट्टले विश्वास लिएका छन्।
यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि उक्त टोलीलाई भेटेका थिए। भेटमा मुख्यमन्त्री धामीले विभिन्न समसामयिक विषयमा कुराकानी भएको थियो।
भेटपछि सामाजिक संजालमार्फत मुख्यमन्त्री धामीले दुवै देशको रहनसहन, धार्मिक रितिरिवाजका साथै दुवै देशको रोटी-बेटीको सम्बन्ध रहेको बताएका छन्। उनले नेपालको विकासका लागि आफूले सक्ने सहयोग गर्नेसमेत प्रतिबद्धता जाहेर गरेका छन्।