कैलाली: कैलालीको अत्तरियामा सल्याबाट ल्याइएको सिम्ला मिर्च तरकारीमा विषादी भेटिएको छ । अत्तरियास्थित विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परीक्षणमा एक क्विन्टल बढी सिम्लामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएको हो ।
सिम्लामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट दर भेटिएको र सो तरकारी नष्ट गरिएको कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले बताए । उनका अनुसार तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गर्ने गरिन्छ ।
उक्त सिम्ला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो । विषादी फेला परेको सिम्ला आज बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए।
यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्विन्टल टमाटरमा विषादी भेटिएपछि नष्ट गरिएको थियो ।
Facebook Comments Box