झारखण्ड – भारतको झारखण्ड राज्यको देवघरमा केबलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा थप १ जनाको मृत्यु भएको छ ।
आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिर दर्शन गर्न जाने क्रममा एक केबलकारको क्याबिन पहाडमा ठक्कर खाएर डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएपछि ५० जना यात्रु हावामै फसिरहेका थिए ।
ठोक्किएर केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए ।
आइतबार बेलुकीबाट नै भारतीय सेनाले हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो । सोही क्रममा सोमबार एक फसेका व्यक्तिको उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर मृत्यु भएको भिडियो सार्वजनिक भएको छ ।
ती मृत्यु भएका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । ती व्यक्तिलाई केबलकारको क्याबिनबाट सेनाको हेलिकोप्टरले उद्धार गर्दैगर्दा हेलिकोप्टरबाट हात खुस्किँदा भुइँमा खसेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आज बिहान मात्रै १० जनाको उद्धार गरिसकिएको र अब जम्मा ५ जनाको मात्र उद्धार बाँकी रहेको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले जनाएका छन् । ती व्यक्तिहरुको पनि छिटै उद्धार कार्य सकिने उनले जनाएका छन् ।
केबलकारमा बसेका यात्रुहरुको उद्धारका लागि भारतीय एयरफोर्स, भारतीय आर्मी, एनडीआरएफ, आईटीबीपी टिम परिचालन गरिएको पनि जनाइएको छ ।