डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले फोहोर संकलन नगरेको भन्दै विरोध भएको छ। बसपार्क नजिकै रहेको सार्वजनिक पुस्तकालय प्रांगणमा रहेको फोहोर नउठाइएको भन्दै विरोध भएको हो।
यस विषयमा भुवन भण्डारी सामाजिक संजालमा लेख्छन्, ‘डडेल्धुरा सार्वजनिक पुस्तकालय अगाडि विगत लामो समयदेखि फोहरै फोहरले भरिभराउ देखिन्छ तर सम्बन्धित निकायको किन फोहरप्रति ध्यान जादैन ?’
सोही स्थानमा पसल सञ्चालन गरिरहेका महेश कठायतले पनि नगरपालिकाका कुचिकारले उक्त स्थानबाट फोहोर नउठाइने गरेको बताए। ‘यहाँ फोहोरको थुप्रो लागेको छ। तर नगरपालिकालो ध्यान यहाँ छैन’ उनले भने, ‘यो फोहोरले नगरपालिकालाई गिज्याइरहेको छ।’
उनले उक्त स्थानजस्तै धेरै ठाउँबाट नगरपालिकाले फोहोर संकलन नगर्ने गरेको गुनासो गरे।
यस्तै जिल्ला सदरमुकामा हुने अव्यवस्थित पार्किङमा पनि नगरपालिकाको ध्यान नगरेको गुनासो गरिएको छ। स्थानीय अनुपम जैरु भन्छन्, ‘बसपार्कस्थित पुस्तकालय नजिक अव्यवस्थित पार्किङ हुन्छन्। यस्तै त्यहाँ रहेको गेट, गेटमै सटाएर राखिएको ठेलाले आवतजावतमा समस्या आइरहेको छ। नगरपालिकाले व्यस्थापन गर्नुपर्ने हो तर नगरपालिकाको हेर्नेबाहेक कुनै काम छैन। ‘
जथाभावी पार्किङले दुर्घटना निम्तिने त्रास भएको स्थानीय बताउँछन्। जिल्ला सदरमुकामको बसपार्कभन्दा तल सार्वजनिक पुस्तकालय, बगरकोट रोड, तुफानडाँडा क्षेत्रमा त्यस्तो पार्किङ भइरहेको छ।
व्यवसायीहरुले दिउँसै सडक कब्जा गरेर सामान अन्लोड तथा लोड गर्ने कार्यले दुर्घटना निम्तिने स्थानीय सजन सिंह ठकुरीले बताए। सो समस्या तुफानडाँडास्थित महेश्वरी मोडमा रहेको उनले बताए