धनगढी: कञ्चनपुरमा हिजो लागुऔषधसहित एक प्रहरी नै पक्राउ परे। हिजो शनिबारको दिन साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट एक सशस्त्र प्रहरीका जवान समातिएका थिए। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका थिए। प्रदिप दार्चुलाको दत्तुस्थित सशस्त्रको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको थियो। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ।
उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ।
यता, सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआईजी कुमार न्यौपानेले निज जवान बिदामा घर (धनगढी) आएका बेला पक्राउ परेको जानकारी दिए। उनका अनुसार उनी पक्राउ परेलगत्तै स्वत: निलम्बित भैसकेका छन्। तर अदालतले सो मुद्दामा सफाइ दिएको अवस्थामा भने निलम्बन फुकुवा हुनसक्ने उनको भनाइ छ।
र यो पनिः