दार्चुला– जिल्ला सुरक्षा समिति दार्चुलाको बैठकले दार्चुलाका १ सय १० मतदानस्थल र १ सय ३९ मतदान केन्द्रमध्ये ११ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखेको छ । वैशाख ३० गते हुने निर्वाचनको लागि सुरक्षा समितिले विगतको राजनीतिक घट्नाक्रम र अहिले पर्न सक्ने प्रभावका आधारमा मतदानस्थलको सम्वेदनशीलता छुट्याएको हो ।
चार वटै सुरक्षा निकायको रिपोर्टिङको आधारमा जिल्लाभरीको अवस्थालाई विश्लेषण गरी ११ वटा मतदान केन्द्र अतिसम्वेदनशील र ११ वटा मतदान केन्द्र सम्वेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको भौगोलिक विकटता, अघिल्लो निर्वाचनमा राजनीतिक दलबीच देखिएको झडप तथा द्धन्द्ध लगायतका थुपै्रै आधारबाट मतदान केन्द्र छुट्याइएको छ । योसँगै सम्वेदनशीलताका आधारमा चार वटै सुरक्षा निकाय एकसाथ परिचालन गर्ने नीति बनाइएको उहाँले बताउनुभयो ।
सम्वेदनशील भएका मतदानस्थलहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकायसहित स्थानीय तहहरूसँग समन्वय गरिएको छ । सुरक्षा समितिले वर्गीकरण गरेका मतदानस्थलको नाम भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सार्वजनिक गरिएको छैन । ‘कुनै पनि पूरै स्थानीय तह अतिसम्वेदनशील छैन,’ उपाध्यायले भन्नुभयो, ‘त्यहाँको अवस्थाको आधारमा केही मतदान केन्द्र मात्रै अतिसम्वेदनशील र सम्वेदनशीलमा राखिएको हो ।’
सुरक्षा समितिका अनुसार हरेक स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थित हुनेछ । पहिलो घेरोभित्र रहेको सुरक्षा निकायभित्र ३० मिनेटभित्रै व्याक फोर्स पुग्ने व्यवस्था गरिने समितिले जनाएको छ ।