धनगढी: धनगढीमा आफूलाई सुविधा सम्पन्न दाबी गर्ने एसपीए (सुदूरपश्चिमान्चल) क्याम्पसको गाडी प्रहरीको फन्दामा परेको छ। आज (सोमबार) क्याम्पसबाट निस्केको सुदूरपश्चिम प्रदेश ०१-००१ क २०६९ नम्बरको बस ट्राफिक प्रहरीको फन्दामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र जोहारीले एसपीएको सो बसले सीट क्षमताभन्दा बढी विद्यार्थी राखेर ओसारपसार गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार अहिले चालकलाई कारबाही (जरिवाना कटाएर) गरेर बसलाई तत्कालका लागि छोडिएको छ।
आज दिउँसो कैलाली ट्राफिक कार्यालय भन्दा अगाडि प्रहरीले चेकजाँच गर्दा सो बसमा क्षमता भन्दा बढी विद्यार्थी राखेको पाइएको थियो। प्रहरीले एसपीएको यो पुरानै समस्या भएको र पटकपटक जानकारी गराइ सचेत गराउदा पनि अटेरी गरेको जनाएको छ। यस्तै विद्यार्थीले पनि बसमा सीट क्षमताभन्दा बढी यात्रु हुँदा समस्या हुने गरेको र यसमा क्याम्पस प्रशासनले बदमासी गरेको बताएका छन्।
एसपीए क्याम्पसले ट्राफिक नियम नमानेर मनोमानी गर्दै आएकोमा अबदेखि सुधार नगरे थप कारबाही गरिने ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।