काठमाडौँ : साढे २४ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकेदारबाट छपाई गर्दै आएको निर्वाचन आयोगका पदाधिकारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
निर्वाचन सामाग्री खरिदको नाममा २४ करोड ५३ लाखमा खरिद गरिएको प्रिन्टिङ छपाई मेसिनबारे परेको उजुरीबारे छानबिन थालेको आयोगले तत्कालीन प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीहरूमाथि छानबिन थालेको हो ।
छोटो समयमै छपाई गर्नु पर्ने भन्दै खरिद गरिएको मेसिनबाट सामाग्री छपाई नै नगरी ठेकेदार मार्फत छपाई गरिनुले पनि कमिसनकै लागि खरिद गरिएको स्पष्ट रहेको आयोगको एक उच्च अधिकारीले बताए ।
महालेखालेसमेत यसबारे प्रश्न उठाएको थियो । महालेखाको ५८औँ प्रतिवेदनमा २०७५ चैत्र १५ मा हुने उप निर्वाचनमा मतपत्रलगायत अन्य छपाई कार्य गरिने जवाफ निर्वाचन आयोगले दिएको भए पनि २०७६ मासमेत मेसिन प्रयोग नभएको उल्लेख गरिएको थियो । उच्च मूल्यको मेसिन खरिद गरी प्रयोगविहीन रहेको उचित नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख भए पनि सम्बन्धित निकाय तै चुप मै चुपको अवस्थामा रहेका थिए ।
खरिद प्रकरणहरूमा चर्चित ओम्नी ग्रुपबाट तत्कालीन प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित केही आयुक्तहरूले खरिद गरेको मेसिन किनेको ६ वर्ष भई सकेको छ ।