बैतडी: बैतडीको एक वडा अध्यक्षको नाममा रहेको क्लिनिकबाट श्रीमतीले औषधी विक्री गर्ने गरेको पाइएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तेजबहादुर साउँदको नाममा दर्ता भएको क्लिनिकबाट श्रीमतीले औषधी बिक्री गरेकी हुन्। श्रीमान वडाअध्यक्षमा निर्वाचित भएपछि किराना पसलसँगै रहेको क्लिनिक पनि श्रीमती तुलसी साउँदले चलाउने गरेको स्थानीय बताउँछन्।
हेमन्त मेडिकल सिगास-६ थालाकाँडा, मौरिवगड नामबाट सञ्चालित क्लिनिक वडा अध्यक्ष साउँदको नाममा दर्ता छ। तर, अध्यक्ष साउँदकी श्रीमतीले बिरामीलाई औषधी बिक्री वितरण गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीयले गुनासो गरेका छन्।
उता वडाअध्यक्ष तेजबहादुर साउँदले आफूले सञ्चालन गरेको क्लिनिक वैधानिक रहेका दाबी गर्छन्। उनले निर्वाचित हुनुभन्दा पहिले आफूले क्लिनिकबाट जनतालाई सेवा दिएरको तर अहिले वडाअध्यक्ष भएपछि शनिबार मात्रै क्लिनिक खोल्ने गरेको बताए। ‘केहीले रिस मानेर विरोध गरेर श्रीमतीले सञ्चालन गर्यो भन्दैछन्। तर त्यसो हैन। किराना पसल पनि छ। त्यसैले श्रीमती त्यहाँ हुन्छिन्’ उनले भने, ‘मलाई धेरै साथीहरुले बन्द गर्नुस भनेर सल्लाह दिएका छन्, अब बन्द गर्ने तयारीमा छु।’
पछिल्लो ८ वर्षअघिबाट स्वास्थ्य सेवामा लागेका वडा अध्यक्ष साउँद सिएमए पास हुन्। नियम अनुसार उनले क्लिनिक सञ्चालन गर्न पाउने तर, औषधी बिक्री गर्न नपाउने एक स्वास्थ्यकर्मीले बताए।
सिगास गाउँपालिकासँग आफ्नो पालिकाभित्र कति क्लिनिक तथा औषधी पसल छन् भन्ने एकिन तथ्यांक छैन। गाउँपालिकामा दर्ताको नभएको र अन्य निकायमा दर्ता भएका औषधी पसलबारे एकिन तथ्याक नभएको स्वास्थ्य शाखा प्रमुख भिम सिह ऐरले बताए। उनले भने, ‘पालिकामा कुनै दर्ता छैन। अन्य निकायमा दर्ता भइ सञ्चालित होलान्। अब अनुगमन गर्नुपर्ने छ।’