धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका जन्मदातासमेत रहेका रेशमलाल चौधरीले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्।रेशमलालले सुदूरपश्चिम सरकार विस्तारका क्रममा आफ्ना प्रदेश सभा सदस्यले बिहीबार मन्त्रीको सपथ लिने सहमति भएको बताए।
उनका अनुसार आज बालुवाटारमा शीर्ष नेताहरूबीच भएको छलफलपछि सहमति जुटेसँगै प्रदेश सरकार विस्तारको मिति तय भएको छ। जसअनुसार रेशमलालको पार्टी नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको छ। नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सो सहमति भएको जानकारी दिइन्।
यस्तै खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी छलफलमा सहभागी थिए।
यसअघि नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गर्दै आएको थियो। आजको सहमतिअनुसार प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउने भएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्रालय कांग्रेसले पाउने छ। कृषि मन्त्रालयमा ७ महिनादेखि मन्त्री छैनन् भने कानून मन्त्रालयमा मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीबिहीन भएको थियो।
नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो। उन्मुक्तिले २ मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो। अब भने अहिलेको यो सहमतिसँगै सुदूरपश्चिममा सरकारले पूर्णता पाउने भएको छ।