धनगढीः सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिभित्र विवाद भएको छ। नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो।
पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन्। ‘यार गद्दार निकला। राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौँ,’ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
चौधरीले फेसबुुकमा व्यक्त गरिएको विचार पार्टीले प्रदेशसभा सदस्यलाई सरकारमा मन्त्रीका रुपमा पठाउने निर्णयप्रती नै लक्षित भएको बताए। उनले पार्टीमा विधि र पद्धती भन्दा पनि व्यक्तिगत निर्णय हाबी भएको उनको भनाई छ।
‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ। राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो। त्यसको विरोधमा बोलेको हुँ,’ चौधरीले भने, ‘हाम्रो पार्टी, पार्टीको नीति, विधी तथा पद्धतीअनुसार चल्न सकेको छैन। नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो।’
चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए त्यसको भत्र्सना र विरोध गर्ने बताए। नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो। उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो।