धनगढी: सुदूरपश्चिम पश्चिम प्रदेशको राजधानी भएको जिल्ला कैलालीबाट जितेका ६ जना मन्त्री बनेका छन्। हिजो सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको हो।
जिल्लाबाट १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन्। कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन्। कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन्।
यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। यस्तै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नं २(२) बाट निर्वाचित सांसद हुन्। उनी नागरिक उन्मुक्तिबाट चुनाव लडेका थिए।
यसैगरी कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचन क्षेत्रले पनि मन्त्री पाएको छ। क्षेत्र नं. ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन्। यस्तै क्षेत्र नं. ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन्।