काठमाडौँ: सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सभा मंगलवार काठमाडौँको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भयो । विभिन्न नियुक्तिदेखि निर्णयका कारण विवादले महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दीकाबीच सम्पन्न भएको सभा पनि आफैमा विवादित बनेको छ ।
सभामा कर्मचारीदेखि पदाधिकारीसम्म अनावश्यक जम्बो टोली लगेर विश्वविद्यालयको आर्थिक भार बढाएको छ ।पर्यवेक्षक र सहयोगीका नाममा दुई दर्जन बढी कर्मचारीलाई काठमाडौँ लगेर अनावश्यक व्ययभार थपिएको हो । पर्यवेक्षक र कर्मचारी गरी २० जनालाई काठमाडौँ लगिएको छ । जसमा सभामा सहयोगका लागि ३र४ जनासम्म मात्रै भएपनि पुग्ने थियो ।
‘सभामा जम्बो टोली लगेर अनावश्यक आर्थिक भार बढाइएको छ,’ विश्वविद्यालयका एक कर्मचारीले भने, ‘दुई÷चार जना गएपनि हुने ठाउमा २० जनासम्म अनावश्यक लगिएको छ ।’ उनीहरुको आउने जाने भाडामा ५ लाख हाराहारी खर्च हुन्छ भने बसोबास, खाना र दैनिक भत्ता लगायतमा अझ ठुलो रकम खर्च हुन्छ । विश्वविद्यालय सभा केन्द्रीय कार्यालय भएकै ठाउँमा गर्नुपर्ने हुन्छ । तर एक दुई जना कुलपति, सहकुलपति र केही सदस्यका लागि जम्बो टोली नै लैजानु खर्चिलो हुन जान्छ ।
यति मात्रै होइन सभाले कार्यकारी परिषदमा हरिकृष्ण कडायतमा नियुक्त गरिएको छ भने, सिनेट सदस्यमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख कुम्भ बहादुर चन्द र कैलाली बहुमुखी क्याम्पसका प्रमुख तोयाराज भट्टलाई नियुक्त गरिएको छ । भट्ट यसअघि पनि सिनेट सदस्य थिए । उनलाई पुनः सिनेट नियुक्त गर्नकै लागि विवादास्पद रुपमा क्याम्पस प्रमुख नियुक्त गरिएको थियो ।
सभाले बैतडीको गोकुलेश्वर कृषि क्याम्पस र कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको छ । गोकुलेश्वरलाई आंगिक बनाउने यसअघिकै तयारी भएपनि महाकाली बहुमुखीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आंगिक बनाइएको हो ।
विश्वविद्यालयले एकलौटी ढंगले विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरेको भन्दै केन्द्रीय कार्यालयमा एमाले निकट अनेरास्ववियु र राप्रमा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्तिक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो ।अनेरास्ववियुले सहमतिपश्चात ताला खोलेपनि राप्रविसले ताला खोलेको छैन ।
विश्वविद्यालयले हालै ७ विभागीय प्रमुख र १५ क्याम्पस प्रमुख नियुक्त गरेको थियो । उपकुलपति र रजिष्ट्रारले एकलौटी ढंगले विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरेको आरोप लागेको छ । उपकुलपति र रजिष्ट्रारले एकलौटी ढंगले कांग्रेस निकटका प्राध्यापकहरुलाई विभिन्न पदमा नियुक्त गर्ने गरेको आरोप लागेको छ ।
विश्वविद्यालयमा अनावश्यक रुपमा सहायक डीनदेखि निर्देशक लगायतका पद सृजना गरेर आफु निकटका व्यक्तिलाई नियुक्त गरिएको आरोप छ । सहायक डीनदेखि निर्देशक लगायत पदमा नियुक्त गर्दा पनि केन्द्रीय कार्यालयमा विभिन्न विद्यार्थी संगठनले महिना दिनसम्म ताला लगाएका थिए । त्यतिबेला विश्वविद्यालयको दीक्षान्त समारोह समेत प्रभावित भएको थियो ।