धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृतले सेवाग्राहीसँग कमिसन मागेको आरोप लागेको छ।
नगरपालिकाको कृषि शाखाका अधिकृत गोकुल भट्टले कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेको हो।
नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण भेटिएको जनाएको छ।
भट्टले समूहहरूलाई रातिको समय फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेको कृषकहरूले बताएका छन्। उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका हुन्। तर, अडियो आफ्नो भएपनि पैसा भने नमागेको उनले दाबी गरेका छन्। भट्टले उक्त अडियोमा कमिसनको रकम माथिल्लो कर्मचारीहरूलाई समेत दिनुपर्ने सेवाग्राहीलाई बताएका थिए।
नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण पत्र काटेको जानकारी दिए।