धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत हालै गठन गरिएको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवानले कुटाइ खाएका छन्। सोमबार कञ्चनपुरको पुर्नवास नगरपालिका–११ को टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदले युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन्।
साउँदले मदिरा सेवन गरेर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात गर्न बाध्य भएको स्थानीयले बताएका छन्। पुर्नवास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरी जवान साउँदले सवारी साधन चेकजाँच गर्दै दुःख दिएको खबर पाएपछि सोमबार आफू पनि घटनास्थलमा पुगेको बताए। तर, अर्यालले आफू त्यहाँ पुग्ने बेलासम्म स्थानीयको एउटा समूहले कुटपिट गरेपछि प्रहरी जवान भागेको उनले बताए। स्रोतका अनुसार उनलाई बैतडीबाट ल्याएर आरआइटीमा राखिएको थियो।
तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे रिर्पोटिङ नभएको दाबी गरे। आरआइटी स्रोतले भने घटनापछि साउँदको फेरि बैतडी नै सरुवा गरिएको जनाएको छ।