काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ।
आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा साउन १४ देखि असोज दोस्रो सातासम्म दिउँसो १२ बजेपछिका उडानमा कडाइ गरेको हो। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उडानमा कडाइ गरिएको उनले बताए।
प्राधिकरणले उडानमा कडाइ गरेपछि सञ्चालनमा रहेका लुक्ला, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, ताप्लेजुङ, डोल्पा, थामखर्क, बाजुरा, साँफेबगर, इलाम, गुल्मी, सल्ले, रारा, खानीडाँडा विमानस्थलमा सेप्टेम्बरसम्म दिउँसो १२ बजेपछि उडान हुने छैनन्। गत आर्थिक वर्षसम्म नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरेर ५३ वटा विमानस्थल छन्। तीमध्ये ३३ वटा विमानस्थल मात्रै सञ्चालनमा छन् भने २० वटा विमानस्थल बन्द छन्।